लालबन्दी, पुस ३० गते । सर्लाहीको लालबन्दीमा रहेको श्रीमद भागवत प्रचार प्रसार संघ लालबन्दी र श्री राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलम, लालबन्दीको वार्षिक साधारणसभा एउटै मञ्चमा बुधवार सम्पन्न भएको छ ।
संघका अध्यक्ष पण्डित नारायण शरण काफ्लेको अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना पाख्रिनको अध्यक्षतामा गुरुकुलम् मै भएको साधारणसभाले यी दुई ओटै संस्थाको नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारणसभाले गुरुकुलम्को सञ्चालक समितिको अध्यक्षमा ऋषि प्रसाद सुवेदी, सदस्यहरुमा मोहन भण्डारी, कमल पौडेल, चेत कुमारी भण्डारी बराल, निर्मला राउत, कपिल देवकोटा, नेत्र प्रसाद दाहाल, तोयानाथ पोखरेल, वसन्त घिमिरे, समीक्षा अधिकारी र सदस्य सचिवमा अच्यूतम प्रसाद दाहाललाई चयन गरेको गुरुकुलम्ले जनाएको छ ।
त्यस्तै गुरुकुलम्कै सल्लाहकारमा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष माधव प्रसाद खरेल, नारायणशरण काफ्ले, रामहरि तिमल्सिना, देबीबन्धु थापा, विष्णु प्रसाद भट्टराई, रमेश प्रसाद दाहाल, दिपेन्द्र अधिकारीलाई चयन गरेको छ ।
त्यस्तै साधारण सभाले श्रीमद भागवत प्रचार प्रसार संघको पनि नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसा अध्यक्षमा पण्डित नारायणशरण काफ्ले, उपाध्यक्षमा विष्णु प्रसाद भट्टराई, सचिवमा रामहरि तिमल्सिना, सह–सचिव पशुपतिनाथ खतिवडा र कोषाध्यक्षमा तेजप्रसाद चौलागाईं चयन भएका छन् । संघको कार्यसमिति सदस्यहरुमा महेन्द्र महतो, बाबुराम अधिकारी, मधुसुधन सापकोटा, विष्णुमाया कार्की, गोमा कार्की, केशवप्रसाद खतिवडा र नेत्र प्रसाद दाहाल चयन भएका छन् ।
साधारणसभामा श्रीमद भागवत प्रचार प्रसार संघ र श्री राधाकृष्ण रामजानकी वैदिक संस्कृत गुरुकुलमको हालसम्मको प्रगति विवरण पेश गरिएको थियो भने आगामी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।
१५ जना बटुकहरु राखेर अध्ययनअध्यापन सुरु भएको गुरुकुलम्मा अहिले ५० जना बटुकहरुले शिक्षा लिइरहेको साधारणसभामा जानकारी गराइएको थियो । त्यस्तै स्थानीय सरकार र विभिन्न दाताहरुको सहयोगमै गुरुकुलमले लालबन्दी ६ मा विद्यालय भवन निर्माण गर्न सफल भएको पनि साधारणसभामा जानकारी दिइयो ।
साधारणसभामा नेपाल हृदयरोग निवारण केन्द्रका अध्यक्ष शिवप्रसाद न्यौपाने, बुद्धिजीवी परिषदका अध्यक्ष बलराम पोखरेल, नेपाली कम्यूनिष्ट पार्टीका नगर अध्यक्ष अर्जुन जर्गा मगर लगायतले सम्बोधन गर्दै धर्म संस्कृतिको विकास र प्रवद्र्धनमा संघ र गुरुकुलमको प्रयास अत्यन्तै सराहनीय रहेको बताएका थिए । उनीहरुले विद्यार्थीलाई संकारसहितको शिक्षा आजको आवश्यकता भएकोले त्यसको आवश्यकता पूरा गर्न पनि संघ र गुरुकुलमलाई अझै अझै अघि बढाउनु पर्ने वक्ताहरुले धारणा राखेका थिए ।
कार्यक्रममा लालबन्दी ९ का वडासदस्य विनोद तिमल्सिना, लालबन्दी ६ का वडासदस्य तोयानाथ पोखरेल, जानकी मावि लालबन्दीका प्रधानाध्यापक हिरालाल महतो, समाजसेवी देवीबन्धु थापा, राप्रपा लालबन्दीका अध्यक्ष गंगा चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।