लालभित्ती, माघ ३ गते । सर्लाहीको हरिवन २ लालभित्तीमा सोनाम ल्होछारको शुभकामना आदान प्रदान तथा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
मञ्जुश्री संवत् २८६२ को शुभ अवसरमा नेपाल बौद्ध धर्म परिचय समाज काठमाडौंको शाखाको रुपमा रहेको झ्याङछुब् छोलिङ्ग गुम्बा, लालभित्ती तथा हरिवन–२ वडा कार्यालयले यहाँ अहिलेसम्मकै भव्य ल्होछार विशेष कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
माघ ५ गते हुने सोनाम ल्होछारको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल बौद्ध धर्म परिचय समाजका केन्द्रीय अध्यक्ष धर्म निरपेक्ष प्रवर्तक तथा सुप्रसिद्ध बौद्ध गुरु डा.गेशे लोब्साङ दावा रिम्पोछे ज्यूको उपस्थिति रहने आयोजकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथीले सोनाम ल्होछार पर्वको महत्व, बौद्ध संस्कार र सांस्कृतिक पहिचानलाई उजागर गर्ने गरी प्रवचन दिनेछन् ।
यो वर्ष मौलिक र विधिवत तरीकाले ल्होछार पर्व मनाउन लागिएको हरिवन २ का वडाअध्यक्ष अर्जुन योन्जनले बताए । उनले भने,–‘यो अहिलेसम्मकै सबैभन्दा ठुलो र महत्वपूर्ण ल्होछार विशेष कार्यक्रम हो । ल्होछारलाई विधिवत तरिकाले मनाउने परम्परा नभएको अवस्थामा हामीले यहाँ हिमाली साँस्कृतिक परम्परा अनुसार नै ल्होछार मनाउनेछौं । जसले ल्होछारका विषयमा अन्यौलता र भ्रमलाई चिर्ने छ ।’
लालभित्ती युवा क्लब, हरिवन–२ ले व्यवस्थापन गरेको उक्त ल्होछार विशेष कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत हुने छ । जसमा राष्ट्रिय स्तरका कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । गायिका अस्मिता अधिकारी, गायक योगेश लामालगायत अन्य कलाकारहरूले आफ्नो प्रस्तुति दिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ । साथै ल्होछारको अवसरमा विशेष परिकार तथा परम्परागत सामग्रीहरूको समेत व्यवस्था गरिनेछ ।
कार्यक्रमको मुख्य उदेश्य सोनाम ल्होछारलाई आपसी सद्भाव, सांस्कृतिक एकता र परम्पराको संरक्षणसँग जोड्नु रहेको छ ।
कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन सम्पूर्ण समुदायलाई सहभागिताका लागि आयोजकले आग्रह गरेको छ ।
सोही स्थानमा केही दिन अघि एक दिने वाङ अभिषेक तथा धार्मिक प्रवचन कार्यक्रम सम्पन्न भएको थियो ।