सोम दियाली, लालभित्ती
माघ ५ गते । २८६२औं सोनाम ल्होछार पर्व नेपालमै पहिलो पटक विधिसम्मत ढंगले धुमधाम मनाइएको छ ।
स्थानीय लालभित्ती युवा क्लवको व्यवस्थापनमा तामाङ्ग सुमदायको नयाँ वर्ष मञ्जुश्री संवत् २८६२ ता ल्हो अर्थात घोडा वर्षको रुमा धुमधाम मनाइएको हो । हरिवन नगरपालिका २ लालभित्तीमा रहेको नेपाल बौद्ध धर्म परिचय समाज काठमाडौंको शाखा झ्याङछुब् छोलिङ्ग गुम्बा लालभित्ती तथा हरिवन–२ वडा कार्यालयको संयुक्त आयोजनामा यहाँ अहिलेसम्मकै भव्य र सभ्य ल्होछार विशेष कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम अन्तरगत सोमवार विहानै विधिवत पूजापाठसहित २३० जना विपन्न परिवारलाई दाल, चामल, नून, तेलसहित खाद्यन्न सामाग्री राहतस्वरुप प्रदान गरिएको थियो भने दिउँसो शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो । त्यस्तै दिउँसैदेखि विभिन्न राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुतीसहितको साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
दिउँसो भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल बौद्ध धर्म परिचय समाजका केन्द्रीय अध्यक्ष परमपुज्य धर्मनिरपेक्ष गुरु डा.गेशे लोब्साङ दावा रिम्पोछेज्यूले ल्होछार भनेको नयाँ वर्ष भएकोले नयाँ आउने समय राम्रो होस् भनेर ल्होछार मान्ने गरिएको बताए । व्यक्ति, परिवार, समाज, देश र जगतका सबै प्राणीहरुको भलो होस् भन्ने कामना गर्दै ल्होछार मनाउने परम्परा रहेको बताउँदै गुरु डा. रिम्पोछेज्यूले ल्होछारले देशमा शान्ति छाओस् भन्ने कामना व्यक्त गरे । उनले विकास भनेको भौतिक र आध्यामिक गरी दुई प्रकारको हुने भन्दै भौतिक विकास मात्रै भएर शान्ति नहुने बताए । उनले शान्ति हुनका लागि मनको विकास पनि हुने पर्ने बताए ।
उनले बुद्धका वाणीहरुले सबै मानिसलाई सुखको मार्गमै लैजाने भएकोले बुद्धवचनमा लाग्न आग्रह गरे । ल्होछार गीत गाउने नाच्नेमात्रै नभएर सबैको मंगलहोस् भनी कामना गरेर मनाईने राष्ट्रिय पर्व भएको बताए ।
कार्यक्रममा हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले पनि ल्होछारको शुभकामना राखे । उनले विकासको गतिमा अत्यन्तै पछि परेको लालभित्ती पछिल्लो समय धार्मिक केन्द्र बनेकोमा खुशि लागेको बताए । उनले हरिवन २ मा बौद्ध दर्शनका विषयमा पठनपाठन हुने गरी संरचना निर्माण भइरहेको जानकारी दिए । उनले वडाका अधिकांश बाटाहरु कालोपत्रे भइरहेको बताए । उनले हरिवन २ मा भइरहेको विकास यहाँकै नागरीकको देन भएको बताए ।
कार्यक्रमलाई हरिवन ४ का वडाअध्यक्ष केशवराज थापाले पनि सम्बोधन गर्दै ल्होछारको शुभकामना दिए । उनले धर्मनिरपेक्ष गुरु डा.गेशे लोब्साङ रिम्पोछेको मानवीय सेवाप्रतिको भावनाको उच्चकण्ठले प्रसंसा गर्दै उनलाई बुद्धकै रुप भएको बताए । उनले भने,‘यो भूमिमा उबेला बुद्धको छायाँ परेको हुनुपर्छ त्यसैले अहिले यो भूमि(लालभित्ती)ले अर्को बुद्ध पाएको छ ।
त्यस्तै हरिवन २ का वडाअध्यक्ष अर्जुन योन्जनले नेपालमै पहिलोपटक आफ्नो वडामा ल्होछार पर्व मौलिक विधि र परम्परा अनुसार मनाउन पाउँदा खुशि लागेको बताए । डा.गेशे लोब्साङ दावा रिम्पोछेले लेखेको पुस्तक देखाउँदै उनले तामाङ समुदायले ल्होछार कसरी मनाउने भनेर कितावमा उल्लेख रहेकोले अब ल्होछारवारेको भ्रम चिरिएको बताए । उनले किताव लेखेर ल्होछारका विषयमा रहेको भ्रम चिर्ने र लालभित्तीमा बौद्ध दर्शन सम्बन्धी पढाई गराउने गरी नै नेपाल बौद्ध धर्म परिचय समाजले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गरे । उनले लालभित्ती र आफ्नो वडामा विकास निर्माणका कामहरु धमाधम भइरहेको जानकारी दिँदै वडाकार्यालय र आफुले समेत जनतालाई दिनुपर्ने कुनै पनि सेवामा कन्जुस्याँई नगरेको बताए ।
कार्यक्रममा काँग्रेस नेतृ सोनी कुमारी बोम्जन, नेकपा नेतृ आरती लामा, नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रीय सदस्य जयमान पाख्रिनलगायतले शुभकामना राखेका थिए ।
सो अवसरमा हरिवन २ को भौतिक, धार्मिक तथा शैक्षिक विकासमा योगदान पु¥याएको भन्दै रामअवतार जनता माविका तर्फबाट डा.गेशे रिम्पोछेज्यूलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।