सोम दियाली, लालभित्ती
पुस २६ गते । सर्लाहीको हरिवन २ लालभित्तीमा शनिवार भव्य र विशाल धार्मिक कार्यक्रम सम्पन्न भएको छ ।
बौद्ध धर्मावलम्बीले नयाँ वर्षको रुपमा मनाउने सोनम ल्होछार पर्व नजिकिँदै गर्दा नेपाल बौद्ध धर्म परिचय समाजको शाखाको रुपमा रहेको झ्याङछुब् छोलिङ्ग गुम्बा, लालभित्तीले यहाँ एक दिने सेतो तारा डोल्माको दीर्घायू अर्थात अभिषेक छेवाङ प्रवचन तथा सोनम ल्होछारको परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
लालभित्तीस्थित झ्याङछुब् छोलिङ्ग गुम्बा अगाडिको खेलमैदानमा भव्य आयोजना गरिएको धार्मिक प्रवचन तथा वाङ अभिषेक कार्यक्रममा प्रमुख अतिथी नेपाल बौद्ध धर्म परिचय समाजका अध्यष परम् पुज्य गुरु धर्म निरपेक्ष प्रवद्र्धक डा.गेशे लोप्साङ दाबा रिम्पोछेज्यूले बौद्ध धर्म सम्बन्धी प्रवचनसहित सोनम ल्होछार पर्व मनाउने विधिका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । साथै उनले आफैले लेखेको ‘हिमाली साँस्कृतिक ल्होछार मनाउने विधि, संस्कृति प्रकाश दीप’ नामक पुस्तकबारे चर्चा गरेका थिए ।
कार्यक्रममा झण्डै २५ सयबढी भक्तजनहरुले छेवाङ अर्थात अभिषेक ग्रहण गरेको आयोजकले जनाएको छ । आयोजक झ्याङछुब् छोलिङ्ग गुम्बा लालभित्तीकी अध्यक्ष पदमा गोले थोकरले मानव भई जन्मेपछि आयू लामो होस्, रोगव्याधी नलागोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् ।

कार्यक्रममा तामाङ्ग समुदायले मनाउने ल्होछार पर्व नजिकिँदै गर्दा ल्होछारका विषयमा उठेका भ्रमहरु चिर्न समेत कार्यक्रम महत्वपूर्ण भएको हरिवन २ का वडाअधयक्ष अर्जुन योन्जनले बताए । उनले सोमन ल्होछारको विषयलाई लिएर तामाङ्ग समुदायमा विद्यमान भ्रम चिर्न कार्यक्रम सफल भएको बताए । उनका अनुसार कार्यक्रममा गुरुज्यूबाट अभिषेक ग्रहण गर्न र प्रवचन श्रवण गर्न सर्लाही र अन्य जिल्लाबाट समेत भक्तजनहरु सहभागि भएको बताए । उनले यतिको कार्यक्रम हरिवन २ मा आयोजना हुनुले आफूलाई पनि खुशि र गौरब महसुस भएको बताए । उनले कार्यक्रमको व्यवस्थापनको सम्पूर्ण खर्च आयोजकले नै गरेको र वडा कार्यालयको तर्फबाट पनि केही सहयोग गरेको बताए ।
कार्यक्रममा गुरुबाट प्रवचन श्रवण गर्न र अभिषेक ग्रहण गर्न पुगेकी हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानले गुरुबाट सोनम ल्होछार पर्व मनाउने विधिका विषयमा प्रशिक्षण प्राप्त गरेको बताईन् । उनले यस्ता खालका कार्यक्रमले मानिसहरुमा सकारात्मक सोच प्रवाह गर्ने र त्यसले शान्ति स्थापनामा सहयोग पुग्ने बताईन् ।
त्यस्तै कार्यक्रमका प्रचार प्रसार संयोजक शेरबहादुर योन्जनले विषम परिस्थितिमा मान्छेको मनलाई, शान्त, शितल र आनन्द प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले विषम परिस्थितिका कारण अहिले देशमा सबै क्षेत्रका मानिसहरुको मन अशान्त भएको, मनोबल कमजोर रहेको बताउँदै गिरेको मनोवल उच्च बनाउन यो कार्यक्रम महत्वपूर्ण भएको बताए ।
त्यस्तै नेपाल बौद्ध धर्म परिचय समाजका केन्द्रय सविच कुन्गा रिन्जीन गेला लामाले सबै धर्मको आदर सम्मान गर्दै बौद्ध धर्मको सम्बद्र्धन गर्ने नै आफूहरुको उदेश्य रहेको बताउँदै परम गुरुले सहभागिहरुलाई आनन्दको ज्ञान प्रदान गरेको बताए ।
त्यस्तै कार्यक्रममा नेपाल बौद्ध विद्यार्थी समाजका निर्देशक गेशे रिन्जीवले सेतो तारा आयूको देवी भएको बताए । उनले परम् पुज्य गुरु धर्म निरपेक्ष प्रवद्र्धक डा.गेशे लोप्साङ दाबा रिम्पोछेज्यूले लेखेको ल्होछार मनाउने विधि सम्बन्धी पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रकाश पारे । उनले हरिवन २ का वडाअध्यक्ष अर्जुन योन्जनकै विशेष अनुरोधमा गुरुले सोनम ल्होछार मनाउने विधि सम्बन्धी पुस्तक निकाल्नु भएको बतए । उनले पुस्तकमा ल्होछार मनाउने विधिहरुलाई स्पष्ट रुपमा उल्लेख गरिएको बताए ।

अहिले नेपालसहित विश्वभर अशान्ति फैलिंदै गएको बताउँदै कार्यक्रमका प्रमुख अतिथी परम् पुज्य गुरु धर्म निरपेक्ष प्रवद्र्धक डा.गेशे लोप्साङ दाबा रिम्पोछेज्यूले शान्तिका लागि वाङ अभिषेक कार्यक्रम गरिएको बताए । उनले अभिषेकले मान्छेको सोच परिवर्तन हुने भएकोले अभिषेक जरुरी रहेको बताए । उनले विश्व नै अहिले तेश्रो विश्वयुद्धतर्फ उन्मूख भइरहेको बेला मानिसहरुलाई शान्त रहने विधि सिकाउनु जरुरी रहेको औंल्याए । उनले आफूहरुले मान्छेको अशान्त मनलाई कार्यक्रम मार्फत् प्रवचन र वाङ अभिषेक मार्फत शान्त बनाउने गरेको बताए ।
कार्यक्रममा हरिवनसहित बागमती, लालबन्दी, रानीगञ्ज, बयलवास, रौतहटको चपुर र अन्य स्थानबाट समेत भक्तजनहरु कार्यक्रममा सहभागि भएका थिए । https://youtu.be/GbmmTGIYVyI