माघ ३ गते । सर्लाहीको बलरा नगरपालिकामा योजनामा गम्भीर आर्थिक अनियमितता भइरहेको खुलासा भएको छ । नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृत एक तालिम सञ्चालनमा अनियमितता गरेको आरोपमा निलम्बनमा रहेकै अवस्थामा मेयर निकटका व्यक्ति तथा कार्यकर्तामार्फत योजनाहरू धमाधम पुरानो मिति (ब्याक डेट) राखेर सम्झौता गरिँदै कार्यादेश दिइएको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार मेयरका भान्जा बिसी महतो योजनाको नाममा पैसा उठाउँदै कमिसन लिने कार्यमा सक्रिय छन् । उनीमार्फत विभिन्न योजनाहरू पुरानो मिति राखी सम्झौता गरिँदै आएको र कार्यादेशसमेत वितरण गरिएको आरोप लागेको छ । यसले नगरपालिकामा संगठित ढंगले आर्थिक चलखेल भइरहेको आशंका थप बलियो बनाएको छ ।
खुलासाअनुसार बलरा नगरपालिका–११ मा माओवादी केन्द्रका कार्यकर्ता कौशल मण्डलमार्फत विजुलीसम्बन्धी सामग्री वितरण गरिएको बताइएको छ । योजनाको वैधानिक प्रक्रिया पूरा नगरी राजनीतिक पहुँचका आधारमा सामग्री वितरण गरिएको आरोपले नगरपालिकाको सुशासनप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
यता, यस विषयमा प्रतिक्रिया लिन खोज्दा उपमेयर कोशिला देवीले आफू बिरामी भई जिल्ला बाहिर रहेकाले कुनै जानकारी नभएको बताइन् । त्यस्तै, उपमेयरका श्रीमान रामबाबु दासले पनि आफू जिल्ला बाहिर रहेकाले घटनाबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
स्थानीय तहका प्रमुख जिम्मेवार पदाधिकारीहरू निलम्बनमा रहेकै अवस्थामा योजनामा ब्याक डेट राखेर सम्झौता हुनु, कमिसन असुलीको आरोप लाग्नु र राजनीतिक कार्यकर्तामार्फत सामग्री वितरण हुनु अत्यन्त गम्भीर विषय भएको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन नगरे नगरपालिकामा भ्रष्टाचार संस्थागत हुँदै जाने खतरा बढ्ने भन्दै स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन् ।