सर्लाही। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
प्रस्तुत विषयमा मिति २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय आज मिति २०८२ माघ २ गते शुक्रबारदेखि स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचन क्षेत्र नं. २ का लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति, सर्लाहीको कार्यालय परिसर मलङ्गवा नगरपालिका–१० मा स्थापना गरिएको छ। उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी मा. पुष्पराज थपलियालाई तोकिएको छ।
यस्तै, निर्वाचन क्षेत्र नं. १ का लागि निर्वाचन अधिकृतको कार्यालय लालबन्दी नगरपालिका–१० को वडा कार्यालयमा स्थापना गरिएको छ। उक्त निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको रूपमा श्री टिका बहादुर थापा रहेका छन्।
निर्वाचन क्षेत्र नं. ३ का लागि निर्वाचन अधिकृतको कार्यालय मलङ्गवा कार्यालय, हरिवन नगरपालिका–१० मा स्थापना गरिएको छ। यस क्षेत्रको निर्वाचन अधिकृतको जिम्मेवारी श्री नवराज आचार्यलाई दिइएको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. ४ का लागि निर्वाचन अधिकृतको कार्यालय श्री बेनी भोला नमुना माध्यमिक विद्यालय, गोडैता नगरपालिका–८ मा स्थापना गरिएको छ। यस निर्वाचन क्षेत्रमा श्री विनोद प्रसाद घिमिरे निर्वाचन अधिकृत रहेका छन्।
निर्वाचन अधिकृतका कार्यालयहरू स्थापना भएसँगै मनोनयन दर्ता, उजुरी सुनुवाइ, निर्वाचनसम्बन्धी प्रशासनिक कामहरू सहज रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।