सर्लाही, माघ ६ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सर्लाही जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उमेदवारहरुको टुंगो लगाएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सो पार्टीले यि क्षेत्रहरुमा जनप्रिय र जनताका मुद्धालाई सम्बोधन गर्न सक्ने भिजनकारी उमेदवारहरुलाई अघि सारेको हो ।
जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवका अनुसार सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा अनुभवी, स्थानीय जनसमस्यासँग नजिक रहेका र संगठनलाई मजबुत बनाउन सक्ने उमेदवार छनोट गरिएको छ । उनका अनुसार मधेशको अधिकार, सुशासन, रोजगारी र विकासका मुद्दालाई केन्द्रमा राख्दै उम्मेदवार चयन गरिएको हो ।
पार्टीले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट श्रीन्जय महतोलाई उमेदवार बनाएको छ । त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट बिपिन कापर, निर्वाचन क्षेत्र नम्बर ३ बाट सुनिल प्रसाद गुप्ता र निर्वाचन क्षेत्र नम्बर ४ बाट राकेश कुमार मिश्रलाई प्रतिनिधिसभा सदस्यका लागि मैदानमा उतारेको छ ।
यी चारै उमेदवारले लामो समयदेखि स्थानीय तहमा जनताको समस्या नजिकबाट बुझ्दै आएको र पार्टीको नीति–सिद्धान्तअनुसार काम गर्न सक्ने क्षमता रहेको दाबी गरिएको छ । विगतमा पटक–पटक फरक–फरक दलका उम्मेदवार विजयी भए पनि जिल्लाको समग्र विकास र जनजीवनमा अपेक्षित सुधार हुन नसकेको भन्दै यसपटक जनमत पार्टीलाई अवसर दिनुपर्ने तर्क पार्टीको छ ।
आज चारै क्षेत्रबाट बाजागाजासहित नोमेमिनेशन गर्न लागेको सो पार्टीले आगामी दिनमा सर्लाहीका चारै क्षेत्रमा व्यापक चुनावी अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ । जनमत पार्टीले मधेशको सम्मान, समान अधिकार र विकासका लागि आफू नै भरपर्दो विकल्प भएको सन्देश जनतामाझ लैजाने लक्ष्य लिएको जनाएको छ ।