भाइरल पोष्ट, रानीगञ्ज
असार ५ गते । लालबन्दी नगरपालिका १७ रानीगञ्जमा ५ दिने आधारभूत उद्घोषण, व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा त्यहाँस्थित वनदेवी महिला कृषि सहकारी संस्थाले तालिमको आयोजना गरेको हो ।
तालिमको संस्थाकी उपाध्यक्ष आशा बलको अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उप–प्रमुख कल्पना माया पाख्रिनको प्रमुख आतिथ्यतामा वडा नम्बर १७ को सभाहलमा विधिवत शुभारम्भ गरिएको छ । प्रमुख अतिथी उपमेयर पाख्रिनले पानसमा दीप प्रज्वलन गरी शुभारम्भ गर्नुभएको तालिममा आयोजक वनदेवी महिला कृषि सहकारी संस्थाका ४३ जना, जनहित वचत तथा ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्थाका ७÷७ जना तथा अन्य १० जना गरी कुल ६७ जना महिला सदस्यहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन समारोहलाई लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना माया पाख्रिन, वडा नम्बर १७ का पूर्व अध्यक्ष नवराज अधिकारी, तरुण दलका केन्द्रीय सदस्य विभुसिंह थापा लगायतले सम्बोधन गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

वक्ताहरुले ५ दिने तालिमले यहाँका महिला सदस्यहरुलाई स्थानीय स्तरमा हुने विभिन्न कार्यक्रमहरुमा आफ्ना कुराहरु व्यक्त गर्न र विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो । तालिम लिएर आफ्ना कुराहरु सहज र सरल ढंगले अभिव्यक्त गर्न सकुन् भन्ने उदेश्यले नै तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
तालिमका सहभागिहरुलाई पत्रकारिता क्षेत्रमा अब्बल मानिएका पत्रकार कृष्ण थपलिया, मनोज बख्रेल र सोम दियालीलगायतले प्रशिक्षण दिनु हुने आयोजकले जनाएको छ ।
तालिम पश्चात सहभागिहरुले उद्घोषण तथा भाषण कला, व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी आधारभूत ज्ञान हासिल गर्नुका साथै आफूभित्र लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउन सक्षम बन्ने प्रशिक्षक मनोज बख्रेलले बताउनुभयो ।