भाइरल पोष्ट, सर्लाही
असार ५ गते । सर्लाहीको लालबन्दी २ जुटपानी निवासी तिब्र गतिका बलर अभय यादव र गोडैताका परिमार्जन यादव एसिसि मेन्स यु–१६ इस्ट जोन कप प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय टोलीमा परेका छन् ।
आगामी आईतबारदेखि मलेसियामा हुने प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार घोषणा गरेको नेपाली राष्ट्रिय टोलीको सूचिमा सर्लाहीका तिब्र बलर समेत रहेका अभय यादव र परिमार्जन यादवको नाम समावेश भएको हो ।
विपिनप्रसाद शर्मा(कप्तान), सुर्याशुं कोइराला(उपकप्तान) रहेको १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीमा सर्लाहीका अभय यादव र परिमार्जन यादवसहित अन्य खेलाडीहरु शिवान्श बजगाईं, रौनक श्रीवास्तव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही परेका छन् ।
टोलीमा परेका अभय सुर्खेतमा सम्पन्न राष्ट्रिय क्रिकेट प्रतियोगितामा सबैभन्दाबढी १९ विकेट लिएर बेस्ट बलर बनेका थिए । उनले मलेसियामा हुने एसिसि मेन्स यु–१६ इस्ट जोन कप प्रतियोगितामा पनि थुप्रै विकेट लिने र राम्रो खेल प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
क्यानले गत साता सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा टोलीको घोषणा गरिएको हो । मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् ।
नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो । आइतबार सिंगापुरसँग खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा आइतबार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।
हरेक समूहबाट बिजेता र उपबिजेता सेमिफाइनल प्रवेश गर्नेछन् । दुई सेमिफाइनलका बिजेताबीच ५ जुलाई(असार २१) मा फाइनल खेल हुनेछ ।