भाइरल पोष्ट, लाबन्दी
असार ५ गते । लालबन्दीका १७ जना लक्षित वर्गका महिलाहरुले साना सवारी सञ्चालन सम्बन्धी तालिम लिएका छन् ।
लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा शिवशक्ति ड्राईभिङ्ग सेन्टर लालबन्दी ६ ले तालिमको आयोजना गरेको तालिम सहभागिहरुलाई प्रमाण पत्र वितरण गर्दै समापन भएको थियो ।
शिवशक्ति ड्राईभिङ्ग सेन्टरकी प्रोप्राईटर नानुमाया उप्रेतीको अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपमेयर कल्पना माया पाख्रिनको प्रमुख आतिथ्यतमा लालबन्दी ६ स्थित वडा कार्यालयको सभाहलमा तालिमको समापन गरिएको आयोजकले जनाएको छ ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै प्रमुख अतिथी उपमेयर पाख्रिनले व्यवसायिक सवारी चालक बन्न चाहने महिलाहरुको लागि तालिम उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्दै आफूले सिकेका सिपलाई व्यवहारमा लागू गर्दै आयआर्जन गर्न आग्रह गर्नुभयो । ‘अहिले सबै क्षेत्रमा महिलाहरुको सक्रियता बढेको छ । पछिल्लो समय महिलाहरुले पनि साना सवारी चलाएरै भएपनि घर खर्च जोहो गर्न थालेका छन् । हामीले उहाँहरुको व्यवसायलाई थप सहयोग पुगोस भनेर तालिम चलाएका हौं । तपाईहरुलाई थप सहयोग आवश्यक परे नगरपालिकाले गर्नेछ ।’, उपमेयर पाख्रिनले भन्नुभयो ।
तालिममा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका बरिष्ठ प्रहरी नायव निरीक्षक भानुभक्त नेपाल, लालबन्दी नगरपाकिालको लैंगिक विकास तथा समाज कल्याण शाखाकी संयोजक डाँक कुमारी फुयाँल लगायतको आतिथ्यता रहेको थियो ।
तालिममा लालबन्दीका १७ जना लक्षित वर्गका महिलाहरुको सहभागिता रहेको लालबन्दीबाट फोटो पत्रकार लक्ष्मी खनालले जानकारी दिनुभयो । तालिमको सञ्चालन लालबन्दी नगरपालिकाको उद्यम विकास कार्यक्रम(मेडपा)शाखका रमेश कुमार घिमिरेले गर्नुभएको फोटो पत्रकार खनालले जानकारी दिनुभयो ।