सोम दियाली, हरिवन
पुस २८ गते । सर्लाहीको हरिवन नगरपालिका ५ नम्बर वडा कार्यालयले ७० वर्षमाथिका १६२ जना जेष्ठ नागरिक र जेष्ठ दलित नागरिकहरुलाई सम्मान गरेको छ ।
हरेक वर्ष केही न केही उपहार दिएर जेष्ठ नागरीकहरुको सम्मान गर्दै आएको वडा कार्यालयले यो वर्ष भने पानी तातो बनाउने विद्युतीय जग वितरण गरेर जेष्ठ नागरीकहरुप्रति सम्मान प्रदान गरेको हो ।
वडाअध्यक्ष नागेन्द्र कुमार साहको अध्यक्षता तथा पूर्व जनप्रतिनिधिसमेत रहेका बयोवृद्ध जेष्ठ नागरीक पूर्ण बहादुर स्याङ्तानको प्रमुख आतिथ्यतामा वडा कार्यालयमै एक भव्य कार्यक्रमको आयोजना गरी उनीहरुलाई पानी तातो बनाउने विद्युतीय जग वितरण गरेर सम्मान गरिएको वडा सचिव विमला पौडेलले जानकारी दिईन् । उनका अनुसार सोही अवसरमा ९० वर्षमाथिका वयोवृद्ध पूर्णबहादुर स्याङ्तान, टेकबहादुर योन्जन, मान बहादुर बस्नेत र शान्तादेवीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

वडा सचिव विमला पौडेलले नै सञ्चालन गरेको जेष्ठ नागरीक सम्मान तथा विद्युतीय जग वितरण कार्यक्रममा दलित वडा सदस्य शोभा विकले स्वागत मन्तव्य राखेकी थिईन् । गतवर्ष फाईबरको सिरक बाडेको बताउँदै वडासदस्य विकले यस वर्ष वृद्ध आमाबुबाहरुको सम्मानमा विद्युतीय जग बाडेको बताईन् ।
कार्यक्रममा मन्तव्य राख्दै स्थानीय समाजसेवी यूवा सिंगलाल योन्जनले वडा कार्यालय र वडाअध्यक्ष नागेन्द्र कुमार साहको टीमले उत्कृष्ट कार्य गरेको भन्दै प्रसंशा गरे । उनले भने,–‘मलाई लाग्छ वडा नम्बर ५ मधेश प्रदेशकै उत्कृष्ट वडा हुनु पर्छ । किनकी यसले हरेक वर्ष वृद्धवृद्धाहरुको लागि केही न केही उपहार प्रदान गरिरहेको छ । यति मात्रै हैन अपाङ्गता भएका व्यक्तिलाई अटो किनेर दिने, घरवारबिहीन परिवारलाई आवास निर्माण गरेर दिने कार्य सर्वोत्तम उत्कृष्ट कार्य हो । त्यसर्थ हरिवन ५ मधेश प्रदेशकै उत्कृष्ट वडा हो ।’
त्यस्तै स्थानीय टोल विकास समितिका अध्यक्ष कप्लेश्वर महतोले भगवान मन्दिर नभेटिने बताउँदै बुवाआमा नै असल भगवान भएकोले उहाँहरुको सम्मान सधैं गर्नु पर्ने बताए । उनले वडाअध्यक्ष नागेन्द्र कुमार साहले राम्रो काम गरेको भन्दै प्रसंसा समेत गरे । ‘केही न केही नयाँ गरेकै छ । सबै वडावासी खुशि छन् । एउटा वडा सरकारबाट जनताले चाहेको खुशि नै हो ।’, महतोले भने ।
कार्यक्रममै विशिष्ट अतिथी रहेका जेष्ठ नागरीक सञ्जालका अध्यक्ष अम्बर लाल बलले वडाअध्यक्षको टीमले हरेक वर्ष जेष्ट नागरीकलाई केही न केही उपहार दिएर सम्मान गर्ने गरेको भन्दै खुशि व्यक्त गरे । उनले अझ जाडोमा पानी तातो बनाएर पिउन वडाले दिएको विद्युतीय जग जेष्ठ नागरीकहरुको लागि महत्वपूर्ण हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथी पूर्व जनप्रतिनिधि समेत रहेका स्थानीय बयोवृद्ध पूर्ण बहादुर स्याङ्तानले वडा कार्यालयको सहयोग जेष्ठ नागरीकका लागि महत्वपूर्ण भएको बताए । उनले वडा सरकारबाट जेष्ठ नागरीकले चाहेको सम्मान नै भएकोले त्यो वडा कार्यालयले दिएको बताए ।
सम्मान कार्यक्रममा वडाअध्यक्ष नागेन्द्र कुमार साहले वडासरकार छ र जेष्ठ नागरीकका लागि केही गर्छ भन्ने महसुस गराउन जेष्ठ नागरीकहरुलाई हरेक वर्ष केही न केही दिएर सम्झने गरेको बताए । उनले आगामी दिनमा पनि जेष्ठ नागरीकहरुको लागि केही न केही गर्ने प्रतिवद्धता जनाउँदै बुवाआमाको सम्मान सबैले गर्नुपर्ने बताए । उनले आमाबुवाप्रति छोराछोरीको दुरी बढ्दै जाने र प्रेम घट्दै जाने गरेको बताउँदै त्यसलाई चिर्न पनि जेष्ठ नागरीकहरुको सम्मान कार्यक्रम राखिएको बताए ।
जाडोमा पानी तताउने विद्युतीय जग पाएपछि जेष्ठ नागरीकहरुले भने खुशि व्यक्त गरेका छन् । उनीहरुले वडाअध्यक्ष साह र वडा कार्यालयको मुक्त कण्ठले प्रसंशा गरेका छन् ।
साँच्चै नै हरिवन नगरपालिकाको वडा नम्बर ५ ले हरेक वर्ष जेष्ठ नागरीकहरुको सम्मानमा कार्यक्रमहरु गर्दै आएको छ ।