भाइरल पोष्ट, लालबन्दी
पुस १४ गते । सर्लाही घरजग्गा व्यवसायी संघको वार्षिक साधारणसभा तथा जिल्ला भेला सोमवार भव्य रूपमा सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिका–१३ स्थित होलिडे फेमिली रिसोर्टमा आयोजित भेलाले संघको नयाँ नेतृत्व चयन गर्दै सुमन थपलियालाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ ।
संघका उपाध्यक्ष साकार शर्माको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारणसभा तथा जिल्ला भेलामा जिल्लाभर छरिएर रहेका घरजग्गा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । भेलाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्दै संघलाई अझ सशक्त, व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा साकार शर्मा चयन भएका छन् भने उपाध्यक्षमा श्यामहरि पोखरेल चयन भएका छन् । त्यस्तै सचिवमा मोहन कुमार राउत, कोषाध्यक्षमा दिपेन्द्र अधिकारी चयन भएका छन् । सदस्यहरूमा कृष्ण थापा, राजकुमार न्यौपाने, चिरञ्जीवी खतिवडा, महेन्द्र साह, गोपाल श्रेष्ठ, राजेश सिंहलगायत रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै नव निर्वाचित अध्यक्ष सुमन थपलियाले सर्लाही जिल्लामा क्रियाशील घरजग्गा व्यवसायीहरूलाई एकतावद्ध गर्दै व्यवसायलाई व्यवस्थित, पारदर्शी र विश्वासयोग्य बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले घरजग्गा व्यवसायलाई मर्यादित पेशाको रूपमा स्थापित गर्न संघले समन्वयात्मक भूमिका खेल्ने उल्लेख गरे ।
नवगठित समितिका सचिव मोहन कुमार राउतका अनुसार भेलाले सर्लाही घरजग्गा व्यवसायी संघलाई राष्ट्रिय घरजग्गा व्यवसायी महासंघमा आवद्ध गराउने महत्वपूर्ण निर्णय समेत गरेको छ । सो कार्यका लागि अध्यक्ष सुमन थपलियालाई सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको छ । यस निर्णयले संघको संस्थागत विकास तथा व्यवसायीहरूको हकहित संरक्षणमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।