राष्ट्रिय दलित समाज कल्याण संघले चलायो विद्यार्थी भर्ना अभियान

Byviralpost

६ बैशाख २०८१, बिहीबार १०:३६ ६ बैशाख २०८१, बिहीबार १०:३६ ६ बैशाख २०८१, बिहीबार १०:३६

भाइरल पोष्ट, लालबन्दी
वैशाख ६ गते । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीले लालबन्दी नगरपालिकाको वडा नम्बर २ मा विद्यार्थी भर्ना अभियान सम्पन्न गरेको छ ।


दलित अधिकारको लागि काम गर्दै आईरहेको संघले दलित छात्रवृति कार्यक्रम अन्तरगत लालबन्दी नगरपालिका २ पुनरवासमा रहेको पाँच कुमार आधारभूत विद्यालयमा नयाँ शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्ना अभियान चलाएको हो ।


अभियान अन्तरगत संघका पदाधिकारी सोगारथ पासवानको नेतृत्वमा ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चिता’ भन्ने नाराका विद्यालयका प्रधानाध्यापक नरेश कुमार पासवान, शिक्षक युवराज पोखरेलसहित अन्य शिक्षक शिक्षिका, विद्यार्थी, अभिभावकसमेतले पुनरवासका सबै वस्तीवस्तीमा पुगेर बालबालिकालाई विद्यालय पठाउन अनुरोध गरेका थिए ।


विद्यार्थी भर्ना अभियानको ब्यानर लिएर ¥यालीसहित वस्तीवस्तीमा पुगेको टोलीले विद्यार्थी भर्ना अभियान सफल पारौं, बालबालिकालाई विद्यालय पठाऔं, छोराछोरी बराबरी लगायतका नारा लगाउँदै अभिभावकहरुलाई आफ्ना बालबालिका नजिकको विद्यालयमा समयमै भर्ना गर्न आग्रह गरेको संघका जिल्ला कार्यक्रम संयोजक गोविन्द पासवानले बताउनुभयो ।
उहाँका अनुसार संघले दलित बालबालिकाको शैक्षिक गुणस्तर सुधारसहित सबै बालबालिकालाई विद्यालयसम्म ल्याउन विभिन्न कार्यक्रमहरु गरिरहेको छ । त्यस्तै संघले दलित विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्ने गरेको छ ।