हरिवनमा टिबी रोगको परिक्षण गर्ने जिन एक्सपर्ट मेसिन आजदेखि सञ्चालन

Byviralpost

१७ पुष २०७९, आईतवार १४:२७ १७ पुष २०७९, आईतवार १४:२७ १७ पुष २०७९, आईतवार १४:२७

सोम दियाली, हरिवन ।।
पौष १७ गते ।। सर्लाहीको हरिवन ४ स्थित सासापुर स्वास्थ्य चौकीमा टिबी रोगको परीक्षण गर्ने मेसिन(जिन एक्सपर्ट मेसिन) सञ्चालनमा ल्याइएको छ ।
हरिवन नगरपालिकालाई टिबी(क्षयरोग)मुक्त पालिका बनाउने अभियान सफल पार्ने उदेश्यले टिबी रोगको यही परिक्षण गर्न जडान गरिएको मेसिनको आईतबार(आज) नगरप्रमुख रमेश कुमार बुढाथोकी(कमल)ले स्वास्थ्य चौकीमै एक कार्यक्रमकाबीच समुदघाटन गर्नुभएको हो ।
यो मेसिन राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरले उपलब्ध गराएको हो । नगरपालिकाले सञ्चालन गरेको टिबी फ्रि पालिका अभियानलाई थप प्रभावकारी बनाउन केन्द्रबाट प्राप्त भएको मेसिनको आइतबारै हस्तान्तरण तथा जिन एक्सपर्ट सेन्टर समुदघाटन कार्यक्रम भएको नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले बताउनुभयो ।


सह–संयोजक चौधरीका अनुसार स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका हरिवन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष केशवराज थापाको अध्यक्षता तथा नगरप्रमुख बुढाथोकीको प्रमुख आतिथ्यतामा जिन एक्सपर्ट मेसिन हस्तान्तरण तथा जिन एक्सपर्ट सेन्टर सञ्चालन समारोह भएको थियो ।
मेसिन हस्तान्तरण तथा जिन एक्सपर्ट सेन्टर समुदघाटन समारोहमा नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक हरिमाया घलान, स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका क्षयकुष्ठ अधिकृत राजवीर यादव, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, वडा नम्बर १ का वडाअध्यक्ष टम बहादुर घिसिङ, पूर्व उपमेयर रेणुका पौडेल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका रोहित साह, स्वास्थ्य कार्यालय मलंगवाका क्षयकुष्ठ अधिकृत बलिराम यादव, नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंह, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष मोहनलाल श्रेष्ठ, हरिवन चेम्बर अफ कमर्सका महासचिव टोपराज लुईटेल, हरिवनका विभिन्न वडाका पूर्व वडाअध्यक्षहरु, विभिन्न पार्टीका नगर अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिन एक्स्पर्ट मेसिन ल्याउन सुरुदेखि हालसम्म पहल गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
मधेश प्रदेशमा सर्लाहीको हरिवन नगरपालिका, बाराको निजगढ नगरपालिका र धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा टिबी फ्रि अभियान सञ्चालनमा रहेको छ । अभियान सञ्चालन भएका पालिकामध्ये हरिवन नगरपालिकामा यो अभियान प्रभावकारी भएको बक्ताहरुले बताउनुभएको छ ।
हरिवन नगर स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांक अनुसार हरिवनमा आर्थिक वर्ष २०७७/०७८ मा ९२ जना, ०७८/०७९ मा १२० जनामा टिबी रोगको लक्षण भएका विरामी फेला परेका छन् । त्यस्तै चालू आर्थिक वर्षको मंसीर मसान्तसम्म ४८ जनामा टिबी रोगको लक्षण देखिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार लक्षण देखिएकाहरुलाई नगरपालिकाले निःशुल्क उपचार गरिरहेको छ भने लक्षण देखिएका मध्ये निको हुने दर पनि ९१ प्रतिशत रहेको छ ।
अब यो जिन एक्सपर्ट मेसिन सञ्चालन भएपछि टिबी रोगको परिक्षण गर्न थप सहजन हुनेछ । मेसिनले २ घण्टामा नै रिपोर्ट दिने स्वास्थ्य शाखाले जनाएको छ ।