अम्बिका बुढाथोकी, हरिवन
माघ २५ गते । अखिल नेपाल महिला संघले हरिवनमा नगर स्तरीय महिला भेला सम्पन्न गरेको छ । संघकी हरिवन नगर अध्यक्ष देवी खरेलको अध्यक्षता तथा नेकपा एमाले सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार हरि उप्रेतीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले अध्यक्ष खरेलकै संयोजकत्वमा निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ ।
भेलाले नेकपा एमालेका सूर्य ध्वाजाबाहक उमेदवार विकास प्रेमी नेता हरि उप्रेतीलाई जसरी पनि चुनाव जिताउनु पर्ने भन्दै चुनावी अभियानमा होमिने निर्णय गरेको छ । ज्योती लामाले स्वागत मन्तव्य राखेको कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, महिला संघकी सदस्यहरु अन्जना पन्त, गिता राउत लगायतले सम्बोधन गरे ।
महिला भेलाको उदेश्यवारे बताउँदै संघकी जिल्ला अध्यक्ष संचिता घिमिरेले फागुन २१ गते हुने चुनावमा सूर्य ध्वाजाबाहक उमेदवारहरुलाई अत्यधिक बहुमतले जिताउन आग्रह गरिन् ।
त्यस्तै महिला नेतृ एवम् एमाले सर्लाही जिल्ला कमिटीकी पूर्व उपसचिव पार्वती विश्वकर्माले अरुको विरोध गरेर नभई एमालेले गरेको राम्रो कामबारे जनतालाई बताएर मत माग्न आग्रह गरिन् । उनले आमाको नामबाट नागरीकता पाउने व्यवस्था, सबै स्थानीय तहमा महिला जनप्रतिनिधि अनिवार्य गर्ने व्यवस्था, सबै तहमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गर्ने पार्टी एमाले नै भएको बताईन् ।
त्यस्तै हरिवन ११ की वडासदस्य समेत रहेकी महिला नेतृ गिता राउतले पनि हरि उप्रेतीलाई जिताउने अभियानमा घरघरबाट महिलाहरु जुट्न आग्रह गरिन् । उनले हरि उप्रेतीप्रति समर्पित मिठो गीत पनि प्रस्तुत गरिन् ।
त्यस्तै एमाले सर्लाहीका उपाध्यक्ष विदुर प्याकुरेलले यो निर्वाचन देश बनाउने र जलाउने बीचको लडाईँ भएकोले देश बनाउनेको पक्षमा जुट्न आग्रह गरे । उनले देशीविदेशी शक्तिको आडमा देश बनाउनु भन्नेहरुको विश्वास नगर्न आग्रह गर्दै गाउँगाउँबाट एमालेको पक्षमा जाग्न आग्रह गरे ।
त्यस्तै भेलाका प्रमुख अतिथी सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उमेदवार हरि उप्रेतीले विश्वमा ठुला परिवर्तन महिलाहरुकै वलमा भएको सुनाउँदै आफूले पनि महिलाहरुकै साथ सहयोगले चुनाव जित्ने बताए । भातृभगिनी संगठनहरु भनेको पार्टीको लागि भिटामिन वि कम्प्लेक्स भएको भन्दै उनले सबै संगठनहरु जाग्ने र लाग्ने हो भने पार्टीले उमेदवारले सफलता र विजय हासिल गर्ने बताए ।
उनले शनिवार साँझ धरहरामा भएको घटनाबारे बोल्दै भने उमेदवारको कार्यक्रममा हतियार लिएर पुगेको अवरोध गरेको भन्ने कुरा आयो । यो चुनाव नजिते अराजकता बन्द हुने भएकोले यहाँ बाहिरबाट उमेदवार खडा गरिएको छ । बागमतीमा किसानले लगाएको परवल समेत त्यसका युवाहरुले टिपेर लाने गरेको भन्दै उमेदवार उप्रेतीले बागमतीमा अन्य पार्टीले खुलेआम कार्यक्रमहरु गर्न पाउने र सक्ने अवस्था नरहेको बताए । उनले नारायणकाजीले चुनाव जिते बागमतीमा जस्तै क्षेत्र भरी नै गुण्डागर्दी मौलाउने बताउँदै क्षेत्र नम्बर ३ को समृद्धि र शान्ति सुरक्षाको लागि पनि सूर्यमा मतदान गर्न आग्रह गरे ।
कार्यक्रममा समानुपातिक सांसद पदकी उमेदवार शर्मिला यादव, पूर्व प्रदेशसभा सदस्य डिल्ली उप्रेती, हरिवनका संस्थापक मेयर गणेश प्रसाईँ, किसान नेता राजकुमार उप्रेती, एमाले हरिवन नगर अध्यक्ष सिताराम पोखरेल, सचिव सन्दिप थापा, हरिवन ११ का वडाअध्यक्ष शेख मेहबुब रेजा लगायत महिला संघमा आवद्ध महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।