नवलपुर, माघ १५ गते । सर्लाहीको लालबन्दी १ मा निर्मित नवलपुर फुटबल रंगशालाको विधिवत उद्घाटन गरिएको छ ।
माघ १६ अर्थात् भोलिदेखि प्रथम लालबन्दी मेयर गोल्डकप २०८२ शुभारम्भ हुन लागेको यो रंगशालाको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले शिलापत्र अनावरण गरि रंगशालाको समुद्घाटन गरेका हुन् ।
लालबन्दी १ का अध्यक्ष हरिहर भट्टराईको अध्यक्षता तथा मुख्यन्त्री यादवकै प्रमुख आतिथ्यतामा रंगशालामै आयोजित समुद्घाटन कार्यक्रमलाई जीवेश्वर युवा क्लवका अध्यक्ष दिपेन्द्र बुढाथोकीले रंगशाला निर्माणको चरणदेखि हालसम्म भएका प्रगतिहरको विवरण प्रस्तुत गरे ।
कुल एक करोड ७ लाखको लागतमा निर्मित रंगशाला निर्माणमा प्रदेश सांसद पूर्वमन्त्री बेची लुंगेली, लालबन्दी नगरपालिका, वडा नम्बर १ को कार्यालय, विभिन्न संघसंस्था र खेलप्रेमीहरुबाट आर्थिक सहयोग प्राप्त भएकै कारण सम्भव भएको क्लवका अध्यक्ष बुढाथोकीले बताए ।
त्यस्तै प्रमुख अतिथी मुख्यमन्त्री यादवले आफूले भौतिक पूर्वाधार विकास मन्त्री हुँदा बेची लुंगेली, काँग्रेस नेतृ शर्मिला थापा, क्लवका सल्लाहकार राजु राई लगायतबाट आएको प्रस्ताव अनुरुप बजेट राखेको बताए । उनले आफू निरीक्षण नै नगरी बजेट राखेको बताउँदै अहिले आएर हेर्दा जति बजेट राख्नुपर्ने हो त्यो भन्दा बढी नै राख्नु पर्ने रहेछ भन्ने महसुस भएको बताए । उनले चालू आर्थिक वर्षमै रंगशालालाई पूर्णता दिन आफूले सकेको बजेट राख्ने प्रतिवद्धता जनाउँदै आगामी आर्थिक वर्षमा भने करोडकै हाराहारीमा बजेट विनियोजन गर्ने बताए ।
रंगशाला समुदघाटन कार्यक्रमलाई प्रदेश सांसद बेची लुंगेली, काँग्रेस नेतृ शर्मिला थापा, नेकपा नेता सुरेन्द्र लामा लगायतले सम्बोधन गरेका थिए ।