हरिवन, सर्लाहीको उत्तरी क्षेत्र र हरिवन नगरपालिकाकै शैक्षिक धरोहर महादेव जनता माध्यमिक विद्यालयले आफ्नो ६६औँ वार्षिकोत्सव तथा अतिरिक्त क्रियाकलाप सप्ताह–२०८२ शुक्रवार विभिन्न सिर्जनात्मक कार्यक्रम गर्दै धुमधामसँग मनाएको छ ।
माघ २६ गतेदेखि नै सप्ताहव्यापी प्रतियोगिताहरू आयोजना गरेको विद्यालयले फागुन १ गते विद्यालयको स्थापना दिवसको दिन एक विशेष मूल समारोहकाको आयोजना गरी वार्षिकोत्सव तथा अतिरिक्त क्रियाकलाप सप्ताह–२०८२ भव्य रुपमा मनाएको हो । वार्षिकोत्सवको अवसरमा साताव्यापी चलेको विभिन्न प्रतियोगिताहरुमा यो वर्ष हरिवन र आसपासका समेत गरी कुल २१ वटा विद्यालयका ५०० भन्दा बढी विद्यार्थीहरूले ११ वटा विभिन्न विधामा उत्साहजनक सहभागिता जनाएका थिए ।
समापन समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी प्रमुख अतिथि रहनुभएको थियो भने उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत हेमबहादुर फुयाल, शिक्षा उपसचिव हरिप्रसाद दाहाल तथा सामाजिक विकास समिति संयोजक प्रज्वल ढुंगाना विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । साथै विभिन्न विद्यालयका प्रधानाध्यापक, समाजसेवी, अभिभावक, पत्रकार, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहको सुरुवात अत्यन्तै भावनात्मक र ऐतिहासिक ढङ्गले गरिएको थियो। प्रमुख अतिथि, विद्यालय परिवार तथा अतिथिहरूले विद्यालयका संस्थापक शिक्षक स्वर्गीय भिमबहादुरको शालिकमा माल्यार्पण तथा दीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो । सोही अवसरमा विद्यालय परिसरमा निर्माण गरिएको “महादेव पार्क” को पनि उद्घाटन गरिएको थियो ।
उद्घाटनपश्चात् अतिथिहरूले विद्यार्थीहरूले तयार पारेको विज्ञान प्रदर्शनीको अवलोकन गर्नुभएको थियो। प्रदर्शनीमा प्रस्तुत वैज्ञानिक सामग्री, प्रयोगात्मक नमुना र नवप्रवर्तनात्मक अवधारणाले सामुदायिक विद्यालयप्रति समाजको धारणा परिवर्तन हुँदै गएको स्पष्ट संकेत दिएको थियो । विद्यार्थीहरूको सिर्जनशीलता, अनुसन्धान क्षमता तथा वैज्ञानिक सोचले उपस्थित अतिथिहरूलाई विशेष प्रभावित बनाएको थियो ।

कार्यक्रमको प्रारम्भमा विद्यार्थीहरूले अनुशासित मार्चपास तथा पी.टी. प्रदर्शन गरेका थिए। राष्ट्रिय धुनसँगै गरिएको आकर्षक ड्रिलले समारोहलाई थप गरिमामय बनाएको थियो। त्यसपछि विभिन्न जातजातिको पहिचान झल्काउने भेषभूषामा सजिएका विद्यार्थीहरूले लोक तथा आधुनिक नृत्य, गीत र सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यालय परिसर विद्यार्थीहरूको उत्साह, ऊर्जा र कलात्मक अभिव्यक्तिले पूर्ण रूपमा उत्सवमय बनेको देखिन्थ्यो ।
समारोहमा विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी शैक्षिक योजनाको स्पष्ट मार्गचित्र सार्वजनिक गर्नुभयो । उहाँले विद्यालयलाई क्षेत्रकै नमूना “साइन्स हब” का रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। साथै आधुनिक प्रविधिमैत्री शिक्षाको आवश्यकता औंल्याउँदै आगामी शैक्षिक सत्रदेखि सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरी “स्मार्ट क्लास” सञ्चालन गर्ने योजना सुनाउनुभयो ।
प्रमुख अतिथि नगर प्रमुख बुढाथोकीले विद्यालयको आधुनिकीकरण योजनामा नगरपालिकाको तर्फबाट पूर्ण भौतिक तथा आर्थिक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धि गर्न स्थानीय तह गम्भीर रहेको पनि बताउनुभयो ।

प्रतियोगिताअन्तर्गत सबैभन्दा आकर्षक विधा मानिएको विज्ञान प्रदर्शनीमा आयोजक विद्यालय प्रथम हुँदै नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भयो। चतुर्भुजेश्वर जनता मावि द्वितीय, बाल निकेतन एकेडेमी तृतीय तथा सनराइज आवासीय मावि र डनिङ फ्युचर एकेडेमीले सान्त्वना स्थान प्राप्त गरे ।
साहित्यिक विधातर्फ कविता लेखन तथा वाचनमा सदिक्षा चालिसे प्रथम, शिशिर पाण्डे द्वितीय तथा अन्य विद्यार्थीहरू तृतीयदेखि पाँचौँ स्थानसम्म सफल भए। वक्तृत्वकला, निबन्ध लेखन, हाजिरी जवाफ तथा हिज्जे प्रतियोगितामा पनि विभिन्न विद्यालयका विद्यार्थीहरूले उल्लेखनीय प्रतिभा प्रदर्शन गरेका थिए ।
कला तथा सांस्कृतिक विधामा हस्तलेखन, चित्रकला, एकल तथा सामूहिक नृत्य प्रतियोगिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। सहभागी विद्यार्थीहरूले आफ्नो सिर्जनात्मक क्षमता प्रस्तुत गर्दै दर्शकहरूबाट व्यापक प्रशंसा प्राप्त गरेका थिए ।

समारोहका अवसरमा विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष यज्ञविनोद ढुंगेल सहित पूर्व पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो । विद्यालयको दीर्घकालीन सेवा र योगदानको कदर गर्दै उत्कृष्ट शिक्षकहरू तथा विद्यालय सहयोगीलाई पनि सम्मान–पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक टिका भण्डारीले गर्नुभएको थियो। उहाँको प्रभावशाली उद्घोषण शैलीले कार्यक्रमलाई रोचक तथा व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।
समारोहको समापन गर्दै अध्यक्ष कार्कीले विद्यालयको समग्र विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले विद्यालयलाई आधुनिक विज्ञान तथा प्रविधिको केन्द्र बनाउने साझा प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यार्थीहरूको उत्साह, समुदायको सहभागिता तथा आधुनिक शिक्षाको स्पष्ट योजनासहित सम्पन्न भएको यो ६६औँ वार्षिकोत्सवले महादेव जनता माविलाई क्षेत्रकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ ।