भाइरल पोष्ट, लालबन्दी
माघ २९ गते । पैदल यात्री विजय कुमार शर्मालाई लालबन्दीमा भव्य स्वागत सम्मान गरिएको छ । ‘स्थिर सरकार युगको आवश्यकता, राजनीतिक स्थायित्व, सुशासन र समृद्धिको लागि मेची–महाकाली पैदल यात्रा’ भन्ने नारासहित मेची पुलबाट विधिवत यात्रा सुरु गरेका उनी बिहिवार विहान सर्लाहीको लालबन्दी आईपुगेका हुन् ।
माघ २१ गतेबाट पैदल यात्रामा निस्किएका उनले लालबन्दीसम्म आई पुग्दा नवौं दिन पुरा गरेका छन् । पैदल हिडेर दैनिक झण्डै ३०/३५ किलोमिटर दुरी पार गर्दै आएका शर्माले ३४/३५ दिनमा यात्रा पूरा गरिसक्ने बताएका छन् ।

बिहिवार विहानै लालबन्दी आई पुगेका उनलाई यहाँका यूवाहरुले भव्य स्वागत सम्मान गर्दै मेची महाकाली पैदल यात्र सफलताको शुभकामना व्यक्त गरेका छन् । यहाँका युवाहरु सुनिल कुमार साह(भान्जा), रोशन बोहोरा, विनोद भान्जा, शिवराज धमला लगायतका यूवाहरुले उनलाई खादा लगाएर सम्मान गर्दै यात्रा सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
सर्लाही लालबन्दीका यूवा साथीहरुको सहयोगी भावनाको उच्च मूल्यांकन गर्दै पैदल यात्री शर्माले यात्राका क्रममा महेन्द्र राजमार्गमा पर्ने निर्वाचन क्षेत्रका उमेदवारहरुसँग समेत सम्वाद र कुराकानी गरिरहेको बताएका छन् । उनले मतदाताहरुसँग पनि स्थिर र बहुमतको सरकारको लागि कुनै एउटा दललाई बहुमत दिन आग्रह गरेको बताएका छन् ।

लालबन्दीका युवाहरुसँग भेटघाट गरेर सोही कुरा दोहो¥याएका छन् । उनले भने,–‘धेरै पार्टी र धेरै दल हुँदा देशमा स्थिर सरकार बन्न सकेन । सधैं गठबन्धन सरकार बन्दा सरकार बन्ने र गिर्ने खेल धेरै भयो । अब मतदाताले विचार गरेर कुनै एउटा दललाई बहुमत दिए देशमा स्थिर सरकार हुन्छ र स्थिर सरकारले नै विकासको लहर ल्याउन सक्छ ।’
उनले आफू एक सफल पशुपालन व्यवसायी रहेकोले पशुपालन व्यवसाय मार्फत युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सक्ने बताए । उनले अहिले दैनिक २५ सयभन्दा धेरै युवा विदेश पलायन भएको त्यो भन्दा बढी छिमेकी देश भारतमा रोजगारीको लागि जानु परेको दुःखद अवस्थालाई चिर्न नेपालमै रोजगारीको अवसरहरु खोजी गर्नु पर्ने बताए । त्यसका लागि स्थिर सरकारले काम गर्न सक्ने भएकोले कुनै एउटा दलले यो निर्वाचनबाट बहुमत ल्याउन आवश्यक छ ।
उनले आफूले आधा सपना नाम पुस्तक समेत प्रकाशन गरेकोले सो पुस्तकको विक्रीबाट प्राप्त हुने रकम युवाहरुलाई रोजगारी सिर्जना गर्ने काममा खर्च गर्ने बताए ।