जयराम साह, गोडैता
फागुन ४ गते । जनमत पार्टीले सर्लाही ४ मा चुनावी अभियान विधिवत सुरु गरेको छ । प्रतिनिधिसभा सदस्य पदका उमेदवार राकेश मिश्रा, केन्द्रीय कार्यकारिणी समिति सदस्य संजय सिंह, जिल्ला इन्चार्ज श्रीचन यादवको आतिथ्यतामा गोडैता स्थित सो पार्टीको निर्वाचन सम्पर्क कार्यालयबाट चुनावी प्रचार अभियान विधिवत सुरु गरेको हो ।
सो अवसरमा सो पार्टीले सम्पर्क कार्यालयबाट मार्च पास गर्दै गोडैता बजार परिक्रमा गरी पुनः सम्पर्क कार्यालयमै आई समापन गरेको थियो ।

चुनावी प्रचार अभियान सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उमेदवार राकेश मिश्राले ४ नम्बर क्षेत्रका ५१ ओटै वडाका निर्वाचन परिचालन कमाण्डरहरुलाई गाउँ गाउँमा गएर चुनावको प्रचार गर्न आग्रह गरे ।
त्यस्तै केन्द्रीय कार्यकारीणी समिति सदस्य संजय सिंहले यो लडाईं अधिकारको लडाईं भएकोले जनमत पार्टीको बारेमा जनतालाई बुझाउन आग्रह गरे ।
जिल्ला इन्चार्ज श्रीचन यादवले भगवान रामले बानरहरुलाई सेना बनाएर रावणलाई परास्त गरेको किस्सा सुनाउँदै यो लडाई गुण्डाराज र जनताराज बीचको भएको बताए । उनले जनताराज स्थापित गर्न र गुण्डाराजलाई हराउन ४ नम्बर क्षेत्रका जनता जाग्नै पर्ने बताए ।
अभियान सुभारम्भ कार्यक्रममा ५१ओटै वडाका चुनाव प्रचार समितिका संयोजकहरु, बुथ संयोजकहरु, पालिकाका कमाण्डरहरु र स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

सर्लाही ४ जनमत पार्टीको आधार इलाका भएको सो पार्टीले दाबी गरेको छ भने चुनाव पनि जनमतले नै जित्ने उनीहरुले बताएका छन् ।
गोडैताका चुनावी कमाण्डर रामनरेश पटेलले पटक पटक गरिएको सर्वेक्षणले सर्लाही ४ मा हल्ला जस्को भएपनि चुनाव भने जनमतले नै जित्ने बताए ।