काठमाडौँ, माघ २८ गते। मधेस क्षेत्रका शिक्षाविद् डा.बीरवंश बैठाले अन्तर्राष्ट्रिय शिक्षक संघ (International Teacher Association–ITA) को भीआईपी सदस्यता प्राप्त गर्नुभएको छ। इंग्ल्यान्डमा मुख्य कार्यालय रहेको ITA का जर्मनी र थाइल्याण्डमा समेत क्षेत्रीय कार्यालयहरू सञ्चालनमा छन्।
ITAको भीआईपी सदस्यको हैसियतमा बैठाले संघद्वारा आयोजित अन्तर्राष्ट्रिय बैठकहरूमा सहभागी भई शिक्षा सुधारसम्बन्धी आफ्ना विचार प्रस्तुत गर्ने तथा विश्वस्तरमा समावेशी, न्यायोचित र गुणस्तरीय शिक्षा प्रणाली विकासका लागि भूमिका खेल्ने जिम्मेवारी पाउनुभएको छ।
मधेस क्षेत्र लामो समयदेखि शैक्षिक पहुँच, गुणस्तर र समानताको सवालमा चुनौती भोग्दै आएको सन्दर्भमा बैठाको यो अन्तर्राष्ट्रिय जिम्मेवारीलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले मधेसका विद्यालय, शिक्षक र विद्यार्थीका आवाजहरू अन्तर्राष्ट्रिय मञ्चमा पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा क्षेत्रमा लामो अनुभव बोकेका बैठाले यो जिम्मेवारीलाई मधेससहित सम्पूर्ण नेपालको शैक्षिक रूपान्तरणका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँको भीआईपी सदस्यताले मधेसका शिक्षाविद्हरूको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने विश्वास गरिएको छ।