सोम दियाली, बागमती
पुस २० गते । सर्लाहीको बागमती नगरपालिका–५ निवासी समाजसेवी रेवती कुमार खड्काले चिसोबाट प्रभावित अति असक्त, अपाङ्ग तथा विपन्न नागरिकलाई ३० थान फाइबरका सिरक वितरण गरेका छन् ।
राजधानी काठमाडौँमा होस्टल व्यवसाय सञ्चालन गर्दै आएका परोपकारी मनका धनी खड्काले सामाजिक उत्तरदायित्व बोध गर्दै आफ्नो व्यक्तिगत खर्चमै बागमती नगरपालिकाका विभिन्न वडामा पुगेर चिसोले सबैभन्दा बढी प्रभावित वर्गलाई न्यानो प्रदान गरेका हुन् ।
जाडोयामको कठ्याङ्ग्रिँदो चिसोमा फाइबरकै सिरक पाएपछि लाभग्राहीहरूले खुशी व्यक्त गर्दै समाजसेवी खड्काप्रति आभार प्रकट गरेका छन् । चिसोका कारण ज्यान जोखिममा पर्ने डर हटेको भन्दै खड्काले आफूहरूमाथि ठूलो उपकार गरेको उनीहरूको भनाइ छ । बागमती नगरपालिका–२ का लाभग्राही पाल्साङ तामाङले भने, “यो अत्यन्तै कठ्याङ्ग्रिँदो चिसोमा फाइबरको सिरक पाएपछि निकै राहत महसुस भएको छ । जाडोले मरिएला कि भन्ने डर नै हट्यो ।”
समाजसेवी खड्काले बागमती नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष तथा स्थानीय नेतृत्वसँग समन्वय गरेर सिरक वितरण गरिएको जानकारी दिए । सबैलाई पुग्ने गरी सहयोग गर्न नसकिए पनि सकेजति मानवीय भावना र सामाजिक उत्तरदायित्वको बोध गर्दै न्यानो बाँड्ने प्रयास गरिएको उनको भनाइ छ । उनले धेरै ठाउँबाट न्यानो सिरक माग भइरहेको बताउँदै आगामी दिनमा पनि आफूले सकेजति गर्ने बताए ।
हाल नेकपा एमाले काठमाडौँ–सर्लाही सम्पर्क मञ्चका इन्चार्ज रहेका खड्का सम्पर्क मञ्चका पूर्व अध्यक्ष, होस्टेल व्यवसायी संघका पूर्व अध्यक्ष तथा मधेश प्रदेश सम्पर्क समितिका वर्तमान सदस्य समेत हुन् ।
चिसोले जनजीवन प्रभावित भइरहेका बेला समाजसेवी खड्काको यस्तो मानवीय पहल स्थानीयस्तरमा प्रशंसनीय बनेको छ ।