भाइरल पोष्ट, हरिवन
मंसिर २० । हरिवन नगर अस्पताल सासापुरमा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । दीर्घायु गुरु हस्पिटल, काठमाडौंका जेनरल फिजिसियन तथा बाथरोग विशेषज्ञ डा.नरेन्द्र प्रसाद मैनाली नेतृत्वको टोलीले सेवाग्राहीहरूलाई निःशुल्क रुपमा स्वास्थ्य परामर्श तथा उपचार सेवा उपलब्ध गराएको हो ।
शिविरमार्फत बिरामीहरूको स्वास्थ्य परीक्षणका साथसाथै काठमाडौँबाट ल्याइएका विभिन्न प्रकारका औषधिहरू निःशुल्क वितरण गरिएको नगर अस्पतालले जनाएको छ । निःशुल्क सेवा र औषधि सुविधाका कारण स्थानीयवासीमा शिविरप्रति उल्लेखनीय उत्साह देखिएको थियो ।
एक दिनको शिविरमा जम्मा ९२ जनाले सेवा लिएका छन् । तीमध्ये ५३ जना महिला तथा ३९ जना पुरुष रहेका नगर स्वास्थ्य शाखाले जनाएको छ । नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले दिएको जानकारी अनुसार शिविरमा बाथरोग, सामान्य चिकित्सा, जोर्नी दुखाइ, दीर्घरोगका लक्षण तथा परीक्षणसम्बन्धी परामर्शका लागि सर्वसाधारणको उल्लेखनीय सहभागिता थियो ।
हरिवन नगरपालिकाले गरिब तथा विपन्न समुदायका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा नजिकै उपलब्ध गराउने उद्देश्यअनुसार गत वर्षदेखि नै यस्तो कार्यक्रम निरन्तर गरिरहेको छ । नगर प्रमुख कमल बुढाथोकी, हरिवन ४ का वडाअध्यक्ष केशवराज थापा र स्वास्थ्य शाखाले भविष्यमा पनि यस्ता विशेषज्ञ सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शिविर सफल बनाउन सहयोग गर्ने डा. नरेन्द्र प्रसाद मैनाली, हरिवन नगर अस्पताल सासापुरको सम्पूर्ण स्वास्थ्य टिम तथा सहभागी सर्वसाधारणलाई नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।