भाइरल पोष्ट, सर्लाही
कार्तिक २२ गते । बहुजन एकता पार्टी नेपालको केन्द्रीय सचिवालय बैठक पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन कुमार रञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकले वर्तमान नेपाली राजनीतिक परिस्थिति, दलगत असन्तुलन र सामाजिक असमानताको गम्भीर विश्लेषण गर्दै पार्टीलाई जनआकांक्षाको बलमा सशक्त रूपमा अघि बढाउने संकल्प व्यक्त गरेको छ।
बैठकले पार्टीको नीति, संगठन र जनसंपर्क सुदृढीकरणका लागि ठोस रणनीति तय गर्दै आगामी निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ। यसै क्रममा पार्टीले देशव्यापी संगठन विस्तार अभियानलाई तीव्र पार्दै आगामी एक महिनाभित्र एक लाख घर–घरमा पार्टीका विचार औपचारिक रूपमा पुर्याउने लक्ष्य निर्धारण गरेको छ।
पार्टी संगठन विभागका राष्ट्रिय इन्चार्ज राजाराम पासवानले उक्त अभियानलाई संगठित, अनुशासित र जनमुखी ढंगले अघि बढाइने जानकारी दिएका छन्। उनका अनुसार, पार्टीले स्थानीय तहदेखि केन्द्रसम्म संगठन विस्तारमा विशेष ध्यान केन्द्रित गर्दै बहुजन समुदायका हक अधिकार र राजनीतिक सशक्तीकरणका लागि अभियान सञ्चालन गर्नेछ।
बैठकमा पार्टीका उपाध्यक्ष सत्यनारायण राम, महासचिव बृहतदत्त कुशवाहा र सुरज महरा, सचिव यसोदा टिमिल्सिना र जितेन्द्र राम, साथै केन्द्रीय सदस्यहरू राम विश्वस पण्डित, सुजित महरा, फूल कुमारी सदा, रीता पासवान, सर्वस दास, राजेश राई, बुढानी राम, सलीम अन्सारी, राम अयोध्या महरा, स्वाघ विश्वकर्मा, जय प्रसाद राम लगायतका कार्यालय होल्डर र सचिवालय सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकले बहुजन समुदायका राजनीतिक, सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्न दृढ प्रतिबद्धता जनाउँदै पार्टीको भविष्य रणनीति, संगठनात्मक सुदृढीकरण र जनसंपर्क सशक्तीकरणमा विशेष जोड दिएको छ।
बैठकपछि सहभागी नेताहरूले सामाजिक सञ्जालमार्फत शुभकामना र बधाइ सन्देशहरू आदान–प्रदान गरेका छन्।
रामश्री पासवानले “बधाई सर लेख्दै खुशी व्यक्त गरे भने, सुजित महराले “जय भीम” लेखेर ऐक्यबद्धता जनाए।
त्यस्तै, प्रवीन कुमार पासवान, सुबासाहेब पासवान, विजय पासवान, सुशील महरा, र विजय कुमार कुशवाहालगायत नेताहरूले “शुभकामना”, “बधाई” र “धेरै राम्रो काम सर” भन्दै उत्साह व्यक्त गरेका छन्।
बैठकका निष्कर्षहरूले स्पष्ट पारेको छ — बहुजन एकता पार्टी अब आगामी निर्वाचनमा सशक्त विकल्पको रूपमा उभिन तयार छ।