सोम दियाली, हरिवन
कार्तिक २१ गते । हरिवनको समग्र शैक्षिक सुधारको उदेश्यसहित यहाँका वडाअध्यक्षहरुले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गरेका छन् ।
‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कस्ले गर्ने’ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रम भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुशासन र विकासका लागि एकजुट भएका वडाअध्यक्षहरूको पहलमा भएको हो ।
कार्यक्रम हरिवन–८ स्थित महादेव जनता नमूना माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको थियो । अन्तरक्रिया हरिवन–३ का वडाअध्यक्ष दीपमान लोप्चनको अध्यक्षतामा र हरिवन–२ का वडाअध्यक्ष अर्जुन योन्जनको सहजीकरणमा भएको हो ।
प्रधानाध्यापकका गुनासा र सुझावहरू
कार्यक्रमका क्रममा विद्यालय प्रमुखहरूले विद्यार्थी टिकाइमा चुनौती बढ्दो रहेको बताएका थिए । उनीहरूको भनाइमा, अभिभावकले ‘गुणस्तर’ भन्दा ‘रिजल्ट’ प्राथमिकतामा राख्ने प्रवृत्तिले सामुदायिक विद्यालयप्रति विश्वास घट्दै गएको छ ।
महादेव जनता माविका प्रधानाध्यापक गिरीराज रानाले शिक्षकको क्षमता अभिवृद्धि नगरी विद्यार्थीको गुणस्तर सुधार सम्भव नहुने बताए । उनले नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सकारात्मक प्रभाव पारिरहेको जनाउँदै नगरपालिकाले रोकिएको ‘रनिङ शिल्ड’ प्रतियोगिता पुनः सञ्चालन गर्न सुझाव दिए ।
त्यस्तै चतुर्भुजेश्वर जनता माविका प्रधानाध्यापक टेकबहादुर राउतले वडाअध्यक्षहरूले थालेको शैक्षिक सुधार अभियान सराहनीय रहेको बताए । उनले विद्यालयले आफ्नै शैक्षिक योजना बनाई कार्यान्वयन गरिरहेको जानकारी पनि दिए ।
त्यस्तै रामअवतार जनता माविका प्रधानाध्यापक निराजन कार्की, जनजागृति माविका चन्द्रमहोन झा, माइरानी मिक्चनी माविका बासुदेव साह, बालगंगा प्राविका रमा सराफ, चार्लिक प्राविका बद्री मैनाली, चुरे जनता आधारभूत विद्यालयका डिल्लीरमण भट्टराई, सुकुम्बासी प्राविका विनोद दाहाल, जनजागृति प्राविकी गोमा थापा लगायतले विद्यालय सुधारका लागि आफूहरू सदैव तयार रहेको धारणा राखे । उनहरुले विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक वातावरण तयार गरि दिन वडाअध्यहरुसँग आग्रह गरे ।
शिक्षा शाखाको दृष्टिकोण
कार्यक्रममा हरिवन नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख हरिप्रसाद दाहालले प्रधानाध्यापकका सुझाव सुनी शैक्षिक सुधारका कार्ययोजना बनाउन अन्तरक्रिया आयोजना गरिएको बताए ।
शिक्षा शाखाकै रुस स्टालिन चौलागाईले अभिभावकको चाहनाअनुसार नतिजा दिन सके मात्र सामुदायिक विद्यालयको विश्वसनीयता बढ्ने भन्दै प्रधानाध्यापकलाई अभिभावकसँग नजिक हुन आग्रह गरे ।
महादेव जनता नमूना माविका पूर्वप्रधानाध्यापक जयशंकर सिंहले नगर र वडास्तरमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढेमा शिक्षामा ठोस सुधार सम्भव हुने बताए । उनका अनुसार, वडाअध्यक्षहरूले विद्यालयको कामप्रति चासो देखाउँदै अनुगमन गर्ने संस्कृतिको सुरुवात गर्नुपर्छ । विद्यालयहरुलाई राजनीतिको शिकार बनाउने कार्य अन्त्य हुनु पर्छ ।
वडाअध्यक्षहरूको प्रतिबद्धता
अन्तरक्रियालाई सम्बोधन गर्दै हरिवन–४ का वडाअध्यक्ष केशवराज थापा(बाबु)ले जेनजी आन्दोलनको मर्म अनुरूप हरिवनको सुधार यात्रा अब शिक्षा क्षेत्रबाट सुरु भएको बताए । “आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक पुरा नगर्नु पनि भ्रष्टाचार नै हो,” उनले भने, “सबैले आफ्नो दायित्व पूरा गरे हरिवन साँच्चै समृद्ध बन्न सक्छ ।”
त्यस्तै हरिवन–१० का वडाअध्यक्ष तथा नगर प्रवक्ता शम्भुप्रसाद मैनालीले सामुदायिक विद्यालयका शिक्षकहरूको सेवा र योग्यता निजी विद्यालयभन्दा उच्च रहेको बताए । “तपाईंहरू शिक्षक सेवा आयोग पास गरेर आएका अनुभवी शिक्षकहरू हुनुहुन्छ,” उनले भने, “त्यो सीप र अनुभव प्रयोग गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधार्नु तपाईंहरूको जिम्मेवारी हो । हामीले गर्नु पर्ने सहयोग तपाईहरुले पाउनुहुनेछ ।”
कार्यक्रमको अध्यक्ष एवम वडाअध्यक्षहरुको संयोजक वडा नम्बर ३ का वडाअध्यक्ष दीपमान लोप्चनले जेनजी आन्दोलनले सुधारसहितको परिवर्तनको आवश्यकता देखाएको भन्दै अब हरिवनलाई सुशासनको नमूना बनाउने अभियान अघि बढाएको बताए ।
“हामीले शिक्षा, स्वास्थ्यसहितका क्षेत्रमा सुधारको थालनी गरिसकेका छौं,” उनले भने, “प्रधानाध्यापकपछि अब स्वास्थ्यकर्मी र अन्य सरोकारवालासँग पनि अन्तरक्रिया गर्दै हरिवनलाई सुशासनको उत्कृष्ट उदाहरण बनाउने प्रण गरेका छौं ।”
कार्यक्रममा हरिवन १ का वडाअध्यक्ष टमबहादुर घिसिङ्ग, ७ का वडाअध्यक्ष निरध्वज कार्की, ८ का प्रज्वल ढुंगाना, ९ का कोकिलानन्द उप्रेती समेत सहभागि थिए ।
निष्कर्ष
महादेव जनता नमूना माविको समन्वय र हरिवन नगर शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्ष र विद्यालय प्रमुखहरूले साझा रूपमा ‘गुणस्तरीय शिक्षा र सुशासनयुक्त हरिवन’ निर्माण गर्ने संकल्प गरेका छन् ।