सर्लाही, कार्तिक १४ गते । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) सर्लाहीले पार्टीको टिकटबाट निर्वाचित केही ५ जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ ।
जिल्ला पार्टी कार्यालय मलंगवामा जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा बसेको बैठकले पार्टीका निर्वाचित जनप्रतिनिधिहरूले आफ्ना वडामा पार्टी संगठन कमजोर पार्दै अन्य दलका पंक्तिमा सक्रिय रहेको गुनासो आएको भन्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशनसहित स्पष्टीकरण सोधेको हो ।
लोसपाको टिकटबाट चुनाव जितेका बरहथवा १ का वडाअध्यक्ष राकेश सहनी, विष्णु गाँउपालिका ३ का कार्यपालिका सदस्य विजय चौधरी, सोही वडाका वडासदस्य प्रेमलाल साह, विष्णु १ का वडा सदस्य विरेन्द्र राउत र वडासदस्य मनतोरिया देवीलाई स्पष्टीकरण सोधेको पत्र पठाएको लोसपा सर्लाहीका सचिव मिथलेश यादवले जानकारी दिए । ।
सविच यादवका अनुसार स्पष्टीकरण सोधिएका सम्बन्धित जनप्रतिनिधिले पत्र प्राप्त भएको मितिले वा जानकारी भएको मितिले तीन (३) दिनभित्र लिखित रूपमा स्पष्टीकरण पेश गर्न गर्नुपर्नेछ । तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआए वा स्पष्टीकरण नदिए पार्टीले आवश्यक कडा कारबाही गर्ने छ।
उनले स्पष्टीकरणमा परेका जनप्रतिनिधिहरू पार्टीको औपचारिक बैठकमा समेत उपस्थित नभएको, संगठन गतिविधिबाट टाढा रहेको र अन्य दलका गतिविधिमा सक्रिय भएको भन्ने गुनासो पालिका र वडा कमिटीबाट प्राप्त भएपछि स्पष्टीकरण सोध्न बाध्य भएको बताए ।
सविच यादवले पार्टी अनुशासन उल्लंघन गर्ने कसैप्रति पनि सहिष्णुता नदेखाइने स्पष्ट गर्दै सम्बन्धित जनप्रतिनिधिले समयमा स्पष्टीकरण नदिए पार्टीले आवश्यक निर्णय लिने बताए ।