भाइरल पोष्ट,काठमाडौं
कार्तिक १४ । सरकारले भिजिट भिषा सम्बन्धी सबै पुराना व्यवस्था खारेज गर्दै नयाँ व्यवस्था लागू गरेको छ ।
कार्तिक १४ गतेदेखि लागू हुने गरी कार्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयबाट सरकारले भिजिट भिषासम्बन्धी नयाँ व्यवस्था ल्याएको हो । जसअनुसार अब भिजिट भिसामा विदेश जान चाहने नेपाली नागरिकले चार प्रकारका कागजात अनिवार्य पु¥याउनु पर्नेछ । नयाँ व्यवस्था अनुसार भिजिट भिषामा विदेश जान कम्तीमा ६ महिना वैधता बाँकी रहेको राहदानी, सम्बन्धित मुलुकको प्रवेशाज्ञा (भिसा) वा भिसा नचाहिने देशका हकमा त्यसको प्रमाण, प्रस्थान गन्तव्यसम्मको हवाई टिकट र भ्रमण प्रयोजन स्पष्ट हुने कागजातसहित “आफ्नो यात्राको परिणाममा स्वयम् जिम्मेवार हुने” भन्ने स्वघोषणा पत्र अनिवार्य रहेको छ ।
अध्यागमन विभागका निर्देशक एवम् प्रवक्ता टिकाराम ढकालकाअनुसार पछिल्ला वर्षहरूमा भिजिट भिसाका नाममा हुने अनियमितता, बिचौलियाको प्रभाव र यात्रुहरूलाई पर्ने झन्झटलाई अन्त्य गर्ने उद्देश्यले नयाँ मापदण्ड लागू गरिएको हो । उनका अनुसार विभागले विगतमा जारी ८ बुँदे मापदण्डसहित भिजिट भिषासम्बन्धी पुराना सबै प्रावधान खारेज गरेको छ ।
विभागका निर्देशक एवम् प्रवक्ता ढकालका अनुसार यो नयाँ प्रणालीले यात्रुलाई सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ । उनले भने, “नागरिकको सुरक्षाका नाममा भइरहेको अनावश्यक जटिलता र बिचौलियाको असर अन्त्य गर्न विभाग प्रतिबद्ध छ । वैध कागजात लिएर आउने कुनै पनि नागरिकलाई अब सहजै यात्रा अनुमति दिइनेछ ।”
भिजिट भिषा प्रक्रियामा देखिएका समस्या समाधानका लागि गठित उच्चस्तरीय अध्ययन तथा छानबिन समितिले नागरिकको मौलिक अधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्ने हक सुनिश्चित गर्न सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार नयाँ नीति लागू गरिएको विभागले जनाएको छ ।
गृह मन्त्रालयले सबै नागरिकलाई “कुनै पनि बिचौलियाको प्रभावमा नपरी, आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्ण जानकारीसहित निर्धक यात्रा गर्न” आग्रह गरेको छ । साथै, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूलाई पनि यो जानकारी नागरिकसम्म पु¥याउन निर्देशन दिइएको छ ।