छठ पर्वको सुरुवात र यसको ऐतिहासिक पृष्ठभूमि नियाल्दा, आज मिथिलाबासी हुन पाउँदा गर्वको अनुभूति हुन्छ । चाडपर्वले भरिपूर्ण हिन्दु समाजमा दशैं र तिहारपछि आउने छठ पर्वले मिथिलाञ्चलको हरेक कुनालाई झिलिमिली बनाएको हुन्छ ।
विश्व नक्सामा मिथिला एउटा यस्तो ऐतिहासिक, पवित्र र ज्ञानभूमि हो, जहाँ राजर्षि जनकले कुनै पनि हिंसा नगरी, ऋषिहरूको जस्तै आचरण अपनाउँदै राज्य सञ्चालन गरेका थिए । बिदेह कालका राजा जनकको राज्यभित्र बेद र उपनिषद् लाई कानूनी परिधिमा राखेर शासन सञ्चालन गरिएको उल्लेख पाइन्छ । यसै सन्दर्भमा मिथिला सभ्यताका विभिन्न रीतिरिवाज, कला, संस्कार र संस्कृतिहरूमध्ये छठ पर्व अत्यन्त प्राचीन र पवित्र पर्वका रूपमा मानिन्छ ।
यस पर्वको उत्पत्ति वैदिक युगमै भएको पाइन्छ । ऋग्वेदमा उल्लेखित प्रातःकालकी देवी उषा देवी र सूर्यदेवको आराधना गर्ने यस पर्वको उद्देश्य स्वास्थ्य, समृद्धि र सन्तान सुखको कामना गर्नु हो । धर्म, विज्ञान र प्रकृतिप्रतिको गहिरो सम्बन्धको प्रतीकका रूपमा यो पर्व सुरु गरिएको थियो ।
पौराणिक कथनअनुसार छठ पर्वको आरम्भ प्रथम सूर्यपूजक राजा प्रियव्रतको पालादेखि भएको हो । शिवपुराण अनुसार प्रियव्रतले सूर्यको गति सुधार्ने कार्य गरेका थिए । सूर्य पश्चिममा अस्त भएपछि पृथ्वीको अर्को भाग अन्धकारमय बन्ने हुँदा उनले रथमा सूर्यको अनुसरण गर्दै सात पटक पृथ्वीको परिक्रमा गरे र सातवटा समुद्र–द्वीप निर्माण गरे भन्ने पौराणिक कथा पाइन्छ । प्रियव्रत स्वायम्भुव मनुका पुत्र, सप्तद्वीप सृष्टिका प्रवर्तक तथा धर्मपरायण तपस्वी राजा थिए ।
उनी निसन्तान भएकै कारण दुःखी थिए । ऋषिमुनिहरूको सल्लाहमा उनले सूर्यकी पुत्री उषा देवीको आराधना गरे, जसको फलस्वरूप उनलाई पुत्र प्राप्तिको वरदान प्राप्त भयो । त्यही दिनदेखि सूर्य उपासनाको यो विधि सुरु भएको मानिन्छ ।
त्रेता युगको रामायणकालमा पनि छठ पर्वको सन्दर्भ उल्लेख पाइन्छ । भगवान् राम र सीता माताले लंकाविजयपछि अयोध्या फर्किएर राज्याभिषेकको अवसरमा सूर्यदेवको आराधना गरी जनकपुरी (मिथिला)को धार्मिक परम्परामा यो पर्वलाई निरन्तरता दिएका थिए भन्ने मान्यता छ ।
त्यसैगरी द्वापर युगमा, महाभारतकालीन द्रौपदी र पाण्डवहरू कठिन परिस्थितिबाट गुज्रिरहँदा, द्रौपदीले सूर्यदेवको आराधना गरी सन्तान, राज्य र समृद्धिको कामना गरेकी थिइन् । उनले उपवास बसेर सूर्यलाई अघ्र्यदान गरेकी थिइन् । त्यसपछि सूर्यदेवले उनलाई आशीर्वाद दिए र पाण्डवहरू पुनः राज्य प्राप्त गर्न सफल भए भन्ने कथन पाइन्छ ।
वैदिक ऋषिमुनिहरूले सूर्यलाई जीवन, ऊर्जा र स्वास्थ्यको स्रोतका रूपमा उच्च स्थान दिएका छन् । सूर्य उपासनाद्वारा आत्म–शुद्धि, शरीर–शुद्धि र मानसिक सन्तुलन प्राप्त हुने विश्वास रहँदै आएको छ । यही वैदिक दर्शन र सूर्य उपासनाको परम्परा कालान्तरमा छठ पर्वका रूपमा विकसित भएको हो ।
समयक्रममा यो पर्व विशेष गरी वर्तमान मधेश प्रदेश (पूर्व पौराणिक मिथिला प्रदेश), भारतको बिहार, पूर्वी उत्तर प्रदेश र नेपालको तराई क्षेत्रमा गहिरो रूपमा फैलिएको छ । मिथिलाबासीहरूले यसलाई धार्मिक कर्मकाण्ड मात्र होइन, आस्था, शुद्धता र संस्कृतिको प्रतीकका रूपमा पनि अंगालेका छन् ।
संक्षेपमा भन्नुपर्दा, पूर्वीय दर्शन शास्त्रअनुसार नेपालमा मनाइने हरेक चाडपर्व कुनै न कुनै विजय उत्सव वा धार्मिक महत्त्वसँग सम्बन्धित रहँदै आएको छ । युद्धपश्चात् विजयको उल्लासलाई निरन्तरता दिँदै आएका यी चाडपर्वहरू मध्ये छठ पर्वको सुरुवात वैदिक युगदेखि नै भएको हो । यसको प्रचार राजा प्रियव्रत, भगवान् राम–सीता र द्रौपदी–पाण्डवका पालासम्म निरन्तर रहँदै आएको देखिन्छ ।
आज पनि यो पर्वले हजारौँ वर्ष पुरानो परम्परालाई जीवित राख्दै प्रकृति, आध्यात्मिकता, आस्था र मानवीय मूल्यहरूको अद्भुत सन्देश दिइरहेको छ । मिथिला तथा तराई क्षेत्रका वासीहरूले यो पर्वलाई हर्षोल्लासका साथ मनाउँछन्—पोखरी, नदी, तालतलैया र घाटहरूलाई दुलहीझैँ सजाएर, घरघरमा चार दिनसम्म व्रत बसेर, अन्तिम दिन बिहानै सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्वको समापन गर्ने परम्परा आजसम्म जीवित छ । (लेखक, थापाले समसामयिक विषयमा शसक्त रुपमा कलम चलाउँदै आएका छन् । उनी नेकपा एमालेका युवा नेता हुन् ।)