रौतहट, कार्तिक २ गते । “स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो” भन्ने मूल नाराका साथ ४५औं विश्व खाद्य दिवस २०८२ विविध कार्यक्रमका साथ माधव नारायण नगरपालिकामा भव्य रूपमा मनाइएको छ ।
नगरपालिकाको नेतृत्वमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र (आरआरपिके) र ग्रामीण विकास केन्द्र (आरडीसी) नेपालको सहकार्य तथा समन्वयमा आयोजित सो कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै विभिन्न रचनात्मक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गरिएको आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिए ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई विश्व खाद्य दिवसको इतिहास र यसको महत्वबारे अभिमुखीकरण सत्र सञ्चालन गरिएको थियो। साथै, कक्षा १ देखि ३ सम्मका विद्यार्थीबीच फलफूल र तरकारीको चित्रकला प्रतियोगिता, र कक्षा ६ देखि ८ का विद्यार्थीबीच “बालबालिकाको शिक्षामा पोषणको महत्व” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको संरक्षण संयोजक शाहले बताए ।
उनका अनुसार बालबालिकाहरूले रंगीन हातका छापमार्फत स्वस्थ खानपानप्रतिको आफ्नो प्रतिबद्धता प्रदर्शन गरे । कार्यक्रममा बाल क्लबका बालबालिकाहरूले नगर प्रमुखलाई प्रतिबद्धता पत्र समेत बुझाएका थिए । सो प्रतिबद्धता पत्रमा घर र विद्यालयमा पौष्टिक खाना खाने, स्थानीय र आदिवासी खानाको प्रवद्र्धन गर्ने, जंक फूडको प्रयोग घटाउने, दिवा खाजा कार्यक्रमलाई समर्थन गर्ने, खाद्य सुरक्षा र पोषणबारे जनचेतना फैलाउने तथा ‘दिगो भोकमरी शून्य अभियान’ मा सहकार्य गर्ने प्रतिज्ञा गरिएको थियो ।
बालबालिकाहरूले नगरपालिकालाई विद्यालयमा स्थानीय खानाको प्रवद्र्धन, दिवा खाजासँग जोडिएको स्कूल बगैंचा स्थापना, पोषण शिक्षा सञ्चालन र बाल तथा पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनमा सहयोग गर्न पनि अनुरोध गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बैजनाथ प्रसाद यादवले सबै बालबालिकाका लागि सुरक्षित खाना र उत्तम पोषण सुनिश्चित गर्न नगरपालिकाको निरन्तर प्रतिबद्धता दोहो¥याए । उनले विद्यालय र समुदायस्तरमा स्थानीय स्रोतको उपयोग र पोषणयुक्त खानाको प्राथमिकता दिन आग्रह गरे ।
कार्यक्रमले विद्यालयका बालबालिकामाझ सफा खाना, पोषण र दिगो भविष्यप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्य सफलतापूर्वक पूरा गरेको आयोजकले जनाएको छ ।