सर्लाही, भाद्र २७ गते । जनमत पार्टीसहितका सर्लाहीका ५ राजनीतिक दलले जेनजी आन्दोलनलाई समर्थन जनाएका छन् ।
जनमत पार्टीको अगुवाईमा आज कविलासी ७ स्थित जनमत पार्टीकै कार्यालयमा बसेका जनमत पार्टी, नेकपा माओवादी केन्द्र, एकीकृत नेकपा समाजवादी, विप्लप नेकपा र नेपाल समाजवादी पार्टी(नेसपा)का इन्चार्ज तथा प्रतिनिधिहरुको बैठकले जेनजी आन्दोलनलाई पूर्ण समर्थन गरेको निष्कर्ष निकालेको हो । उनीहरुले संयुक्त प्रेस विज्ञप्ती समेत जारी गरेका छन् ।
बैठकमा जनमत पार्टीको तर्फबाट जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन), नेकपा माओवादीको तर्फबाट अच्यूतम काफ्ले, एकीकृत समाजवादीको तर्फबाट जिल्ला अध्यक्ष सुरेन्द्र लामा, विप्लप नेकपाको तर्फबाट कमल सुस्लिङ्ग र नेसपाको तर्फबाट जिल्ला सचिव लक्ष्मण साह सहभागि थिए । त्यस्तै सम्बन्धित पार्टीका अन्य पदाधिकारी तथा प्रतिनिधिहरुसमेत सम्मिलित उक्त बैठकले जेनजी आन्दोलनलाई समर्थन गर्दै आन्दोलनपछि उत्पन्न विषम परिस्थितिको निकास संविधानलाई नै टेकेर निकाल्नु पर्नेमा जोड दिएका छन् ।
जनमत पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादव(सुजन)ले वैठकको निष्कर्षबारे जानकारी दिँदै भने,‘वर्तमान विषम परिस्थितिको निकास यही संविधानलाई टेकेर निकाल्नु पर्छ । किनकी यो संविधान जनताको रगत पसिना र बलिदानीबाट बनेको हो ।’, उनले अगाडि भने,‘२०६२÷०६३ कोे आन्दोलन, मधेश आन्दोलन, स्वराज आन्दोलन लगायत विभिन्न आन्दोलनबाट प्राप्त संविधानलाई मासेर देशले निकास पाउन सक्दैन भन्ने हाम्रो निष्कर्ष हो ।’
उनले भाद्र २३ र २४ गते भएको जेनजी यूवा समूहको आन्दोलनको क्रममा मृत्यु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको बताए । उनले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुलाई राज्यले सहिद घोषणा गरी परिवारलाई भरणपोषण गर्नुपर्ने, घाईतेहरुको निःशुल्क उपचार गर्नु पर्ने लगायतका माग समेत वैठकले अघि सारेको बताए ।
त्यस्तै उनीहरुले २०४६ पछि राज्यका उच्च ओहदामा बसेका शीर्ष नेता, मन्त्री, कर्मचारी सबैको शक्तिशाली आयोग बनाएर सम्पति छानविन गर्नुपर्नेमा समेत जोड दिएका छन् ।