सोम दियाली, लालबन्दी
भदौ ३ गते । युवा जुटे देश बन्छ भन्ने उदाहरण भर्खरै सर्लाहीबाट बाहिरीएको छ ।
यहाँका युवा समाजसेवी उमेश थोकरको पहलमा एक शारिरीक रुपले अशक्त विपन्न दलित परिवारलाई घर(आवास) निर्माण गरी हस्तान्तरण गरेसँगै युवाले आँटे समाज छिट्टै परिवर्तन हुन्छ भन्ने सन्देश प्रवाह भएको हो ।
समाजसेवी थोकरले मजदुरीका क्रममा घरको छतबाट लडी मेरुण्ड भाँचिएर हिडडुल र कामै गर्न नसक्ने गरी थलिएका रामचन्द्र विश्वकर्माको परिवारलाई दुई लाख ४६ हजार चार सय रुपैयाँको लागतमा दुई कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरेपछि रामचन्द्रको परिवारमा समेत खुशियाली छाएको छ ।

रामचन्द्रकी श्रीमती सविता विश्वकर्माले नयाँ घर(आवास)को साँचो ग्रहण गर्दै खुशि व्यक्त गरिन् । उनले घर बनाई दिने उमेश थोकरसहित मनकारी युवाहरुलाई धन्यवाद दिईन् ।
युवा समाजसेवी थोकरकै अध्यक्षता तथा लालबन्दी १२, १३ र हरिवन २ का वडाअध्यक्ष एवम् युवा नेताहरुको उपस्थितिमा घर हस्तान्तरण गरिएको थियो । घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै युवा समाजसेवी राजकुमार न्यौपानेले रामचन्द्रका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क पढ्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाए ।
त्यस्तै नेपाली काँग्रेसकी युवा महिला नेतृ सर्मिला थापाले आफूले दशैँका लागि रामचन्द्रको परिवारलाई १० हजार बराबरको खाद्यन्न सामाग्री सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।
त्यस्तै लाईन्स क्वल अफ लालबन्दीका सदस्यहरुले समेत १० हजार मुल्य बराबरकै खाद्यन्न सामाग्री रामचन्द्रको परिवारलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।
लालबन्दी नगरपालिका १२ का वडाअध्यक्ष दुर्गा बहादुर आलेले राज्यबाट प्राप्त हुने सुविधाका लागि आफूले सहयोग गर्ने बताए । १३ का वडाअध्यक्ष शिवकृष्ण वैद्यले आवश्यक परे जुनसुकै समयमा पनि रामचन्द्रको परिवारलाई सहयोग गर्ने बताए ।
त्यस्तै हरिवन २ का वडाअध्यक्ष अर्जुन योन्जनले पनि उमेश थोकरसहितका युवाहरुको यो पहल कदमी निकै नै सराहनीय रहेको बताउँदै आफूले पनि आवश्यक परेको खण्डमा सहयोग गर्ने बताए ।
उमेरले ४० को हाराहारीका रामचन्द्र आर्थिक रुपले निकै विपन्न छन् । आमा, श्रीमती, दुई छोरी र दुई छोराको जिम्मेवारी काँधमा बोकेका रामचन्द्र घर बनाउने मिस्त्रीको काम गर्थे । सोही क्रममा झण्डै तीन वर्ष अघि घर बनाउँदै गर्दा छतबाट खस्दा मेरुदण्ड नै भाँचियो भने टाउकोमा समेत गम्भीर चोट लाग्यो ।
श्रीमती या अरु कसैको साहाराविना हिडडुल गर्न समेत नसक्ने रामचन्द्रको परिवारमा दुःखको दिन सुरु भई सकेको थियो । दुई कट्ठा खेत र एक कट्ठा घडेरीबाहेक रामचन्द्रको केही छैन । मजदुरी गरेर परिवार पाल्दै आएका रामचन्द्रको जीवनमा एक्कासी परेको बज्रपात सानो बज्रपात थिएन ।
कसरी बन्यो रामचन्द्रको घर ?
गत वर्ष पुस माघको बेला युवा समाजसेवी उमेश थोकर लगायतका युवाहरु कम्मल वितरणको लागि दम्काली टोल पुगे । कम्मल लिएर रामचन्द्रको घरमा समेत पुगेका उमेश थोकर रामचन्द्रको अवस्था देखेपछि स्तब्ध बने ।
त्यसपछि उनले रामचन्द्रलाई कम्तीमा सुरक्षितसँग बस्न घर बनाएर दिने सोच बनाएर र साथीहरुसँग सल्ल्लाह गरे । साथीहरुबाट सहयोगको प्रतिबद्धता पाएपछि उनले रामचन्द्रको घर बनाउने काम सुरु गरे ।
रामचन्द्रको घर बनाउने क्रममा देशविदेशमा समेत बस्ने साथीहरुले गरेको सहयोगले आफूलाई रामचन्द्र विश्वकर्मा जस्ता सहयोगापेक्षी परिवारलाई सहयोग गर्ने हौसला मिलेको बताए । यसअघि लालबन्दी नगरपालिकाको १५ नम्बर वडाका टुहुरा बालबालिकालाई आवास निर्माण गरेर हस्तान्तरण गरिसकेका समाजसेवी थोकेरले आफूले कुनै स्वार्थ नराखी मानवीय नाताले सहयोग गरेको बताए ।
दाताहरुलाई सम्मान

रामचन्द्रको आवाश निर्माण गर्न नगद तथा जिन्सी सहयोग गर्ने सहयोगी दाताहरुलाई आवास हस्तान्तरणका क्रममा सम्मान गरिएको छ ।
आवास निर्माणमा नगद सहयोग गर्ने लालबन्दी १६ का पदम गोले, लालबन्दी १३ का वडाअध्यक्ष शिवकृष्ण वैद्य, लायन्स क्लव लालबन्दी सिटीका सदस्यहरु लालबन्दी ७ का दिपेन्द्र अधिकारी, विकल जर्गा मगर, अर्जुन गौतम, दिपक थापा, धर्मराज थापा(राजकुमार), लालबन्दी १२ का खड्गराज थापालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
त्यस्तै आवास निर्माणमा जिन्सी सहयोग गर्ने लालबन्दी १२ का वडाअध्यक्ष दुर्गाबहादुर आले, ज्ञानसागर लामा, हरिवन २ का श्याम लो, अविनाश गोले , अरुण विक लगायतलाई सम्मान गरिएको छ ।