भाइरल पोष्ट, जनकपुरधाम
साउन २७ गते । जनकपुरधाममा कानून व्यवसायी र पत्रकारबीचको जग्गा विवाद हिंसात्मक रूप लिँदै मंगलबार झडपमा परिणत भएको छ । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गुठी संस्थानसँग लिजमा लिएको जग्गामा नेपाल बार एसोसिएसन जनकपुरधामले बलपूर्वक कब्जा गरेको आरोप लागेपछि दुवै पक्षबीच विवाद चर्किएको हो ।
कानून व्यवसायीहरूको आक्रमणमा परेर महासंघका प्रदेश अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’, पत्रकार दिवाकर रायसहित करिब आधा दर्जन पत्रकार घाइते भएका छन्। घाइते पत्रकारको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
महासचिव क्रान्तिको खुट्टाको पैताला भाँचिएको छ, अध्यक्ष बन्जाराको शरीरमा विभिन्न ठाउँमा चोटपटक लागेको छ भने पत्रकार रायको टाउकोमा गम्भीर चोट लागेको छ ।
भूतनाथ महादेवको दक्षिणतिर रहेको ४ कट्ठा जग्गा नेपाल पत्रकार महासंघले गुठी संस्थानसँग २० वर्षका लागि वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा लिजमा लिएको हो । महासंघका अनुसार, यो सम्झौता सबै कानुनी प्रक्रिया पूरा गरेर गरिएको हो ।
तर, साउन २० गते नेपाल बार एसोसिएसन जनकपुरधामले सूचना जारी गर्दै सोही जग्गामा २१ गतेदेखि वकिलहरूको गाडी पार्किङ गर्ने निर्णय गरेको थियो । यसपछि विवाद सुरु भएको हो ।
अध्यक्ष श्याम बन्जाराका अनुसार, बारसँग प्रारम्भिक मौखिक सहमति भएको थियो, बाटोको समस्या समाधान गर्ने र पछाडिको खाली जग्गा उपयोग गर्नेबारे । तर, सहमति कार्यान्वयन नहुने मात्र होइन, बलजफ्ती कब्जा गर्ने कदम चालिएकाले झडप भएको उनको दाबी छ ।
महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’का अनुसार, जेठ ७ गते गोरखापत्रमा गुठी संस्थानले ३ वटा जग्गा लिजका लागि सूचना प्रकाशित गरेको थियो। विभिन्न संघ(संस्थाले प्रस्ताव पेस गरे पनि प्राविधिक र आर्थिक मूल्यांकनपछि पत्रकार महासंघको प्रस्ताव स्वीकृत भएको हो ।
गुठी संस्थानले साउन २ गते महासंघलाई लिज पाएको सूचना सार्वजनिक गरेको थियो भने साउन ९ गते सम्झौताका लागि पत्र पठाएको थियो । अन्ततः साउन १९ गते सम्झौता सम्पन्न भएको थियो ।
बार एसोसिएसनको तर्फबाट यसबारे आधिकारिक प्रतिक्रिया सार्वजनिक नभए पनि, स्थानीय कानुन व्यवसायीहरूले सो स्थानमा भवन निर्माण हुन नहुने र प्रयोगमा विवाद हुने दाबी गर्दै आएका छन् ।
अध्यक्ष बन्जाराले भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी दिँदै ५ गते नै विषयको टुंगो लाग्ने विश्वास व्यक्त गरेका छन् ।
ूविद्वान अधिवक्ताहरूबाट यस्तो व्यवहार हुनु समाजकै लागि प्रश्नको विषय हो। अदालतले सबैलाई न्याय दिन्छ, हामीलाई पनि न्याय मिल्नेमा ढुक्क छौँ,ू उनले भने ।