भाइरल पोष्ट, रौतहट
साउन २४ गते ।रौतहटको गरुडा र माधव नारायण नगरपालिकामा सञ्चालित समावेशी गुणस्तरीय शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजनाले आ.व. २०८२–०८३ को कार्य योजना प्रस्तुतीकरण तथा प्रारम्भिक बैठक सम्पन्न गरेको छ ।
राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) सर्लाहीको आयोजना तथा गरुडा र माधव नारायण नगरपालिकाका नगर प्रमुख क्रमशः कन्थमनी प्रसाद कलवार र बैजनाथ प्रसाद यादवको अध्यक्षतामा दुई ओटै नगरपालिकाको सभाहलमा छुट्टाछुट्टै प्रारिम्भक बैठक सम्पन्न भएको हो ।
दुबै पालिकामा सम्पन्न बैठकमा सिकाइ प्लस परियोजनाको परियोजना व्यवस्थापक आदित्य पटेलले स्वागत मन्तवय तथा बैठकको उदेश्य माथि प्रकाश पारेका थिए । सिकाइ प्लस परियोजनाको कार्य योजना तथा बजेट संस्थाका संयोजक नागेन्द्र प्रसाद शाहले गरेका थिए । त्यस्तै बैठकमा परियोजनाले गत बर्ष सम्पन्न गरेको कामको समेत समिक्षा, उपलब्धि तथा सामुदायीक विद्यालयमा देखिएका समस्या र चुनौतीहरु बारे समेत संयोजक शाहले प्रस्तुत गरेका थिए ।
संयोजक शाहले परियोजनाले आ.ब. २०८२–०८३ मा समाबेशी शिक्षा, अपांगता समावेशीकरण, महिला आर्थिक सशक्तीकरण, लैंगिक समानता र बाल संरक्षणको क्षेत्रमा सञ्चालन गरिने क्रियाकलाप र सो को अनुमानित बजेट समेत प्रस्तुत गरेका थिए । उनले संस्थाले परियोजनाले गर्ने कार्यक्रम र बजेट सम्बन्धित पालिकाको नगरसभाबाट अनुमोदन गराई रेडबुकमा प्रकाशन गराएपछि मात्रै सोही अनुसार कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताए ।
बैठकमा परियोजनाले शिक्षकहरुलाई प्रदान गर्ने विषयगत तालिमबाट सिकेका कुराहरु कक्षाकोठामा लागु गराउनको लागि स्थानीय सरकारबाट नियामित अनुगमन हुनु पर्ने सहभागि प्रधानाध्यापक मौजेलाल साहले बताए ।
गरुडामा सम्पन्न प्रारिम्भक बैठकलाई सम्बोधन गर्दै गरुडा नगरपालिकाका नगर प्रमुख कान्थमणि कलवारले स्थानीय स्तरमा उपलब्ध शिक्षित तथा अनुभवी व्यक्तिहरूसँग छलफल गरेर परियोजनाको क्रियाकलापहरु निर्धारण गर्नु पर्ने सल्लाह दिए । साथै शिक्षा क्षेत्रमा देखिएका सबै समस्याहरुलाई समाधान गर्न सबै जनप्रतिनिधि र सरोकारवालाहरुको जिम्मेवारी रहेको उनको भनाई थियो ।
त्यस्तै माधवन नारायण नगरपालिकाको सभाहलमा भएको बैठकलाई सम्बोधन गर्दै माधवनारयणका नगर प्रमुख बैजनाथ प्रसाद यादवले परियोजनाले उपलब्ध गराएको शैशिक सामग्री र तालिममा सिकेका ज्ञान र सीपको प्रयोग गरि हार्डवर्क नभई स्मार्टवर्क मार्फत शिक्षामा सुधार ल्याउनु पर्ने बताए ।
बैठकमा दुई ओटै नगरपालिकाका नगर प्रमुखहरुसहित उप–प्रमुखहरु, प्रमुख प्रशासकिय अधिकृतहरु, वडाअध्यक्षहरु, प्रशासकिय अधिकृतहरु, शिक्षा शाखा प्रमुखहरु, स्वास्थ्य शाखा प्रमुखहरु, महिला बालबालिका शाखा प्रमुख, कृषि शाखा प्रमुख, योजना शाखा प्रमुख, अपांगता भएको संस्थाको प्रतिनिधि, बाल क्लब र अन्य विषयगत शाखाका प्रतिनिधि तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र र वल्र्ड भिजन ईन्टरनेसनल नेपालका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महिला आर्थिक शसक्तीकरण संयोजक शोभा कुमारीले गरेकी थिईन् ।
अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) सर्लाहीको साझेदारीमा सञ्चालित समावेशी गुणस्तरीय शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना मधेश प्रदेशका सबै भन्दा कमजोर अवस्थामा रहेको बालबालिकाले शिक्षामा समान पहुँच गराउने, सक्रिय रुपमा सहभागी गराउने र आधारभूत शिक्षामा समान सिकाइ उपलब्धि हासिल गराउने लक्ष्यका साथ सञ्चालन हुँदै आएको छ ।
यो परियोजना सर्लाही जिल्लाका हरिपुरर्वा नगरपालिका, पर्सा, चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिकासहित रौतहटको गरुडा र माधव नारायाण नगरपालिकामा सञ्चालनमा रहेको छ ।