सोम दियाली, लालबन्दी
असार १८ गते । सर्लाहीको लालबन्दी बजार टमाटरको लागि प्रसिद्ध छ । यहाँ उत्पादित टमाटरसहितका ताजा तरकारी राजधानीसहित देशका ठुला सहरसम्म पुग्ने गर्छ ।
लालबन्दी बजारबाट वर्षेनी अबर भन्दा बढीको ताजा तरकारी निकासी हुने गरेको छ । तर तरकारी किन्ने र बेच्नेको सधैं भीडभाड हुने कृषि थोक बजार लालबन्दी भोलिदेखि भने सुनसान हुने भएको छ ।
ताजा तरकारीको निकासीमा नगरपालिकाले लगाउँदै आएको निकासी कर हटाउनु पर्ने माग राख्दै ताजा तरकारी फलफुल थोक बजार व्यवसायी संघले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको संघले एक पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
ताजा तरकारी किनबेच नै नहुने भएपछि त्यसको प्रत्यक्ष असर किसानहरुमा पर्ने भएको छ । आन्दोनलनको घोषणा गर्दै व्यवसायीले तरकारी किनबेच नगर्ने भएपनि किसानको तरकारी बारीमै कुहिने निश्चित जस्तै भएको छ । यसको जिम्मा नगरपालिकाले नै लिनु पर्ने व्यवसायीहरुले बताएका छन् । ताजा तरकारी फलफुल थोक बजार व्यवसायी संघका अध्यक्ष दरेश चौधरीले ताजा तरकारीमा नगरपालिकाले लगाएको निकासी करको विरोधमा तरकारीको किनबेच नै बन्द गरेर विरोधमा उत्रिनु परेको बताउनुभयो ।
ताजा तरकारीको निकासीमा अन्यत्र कतै पनि कुनै किसिमका कर नलाग्ने भएपनि यहाँ मात्रै नगरपालिकाले जबरजस्ती कर लादेर व्यवसायी र किसानहरुमाथि अन्याय गरेकोले आफूहरुले त्यसको विरोध गरेको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आफूहरुले निकासी कर हटाउन विगत ४ बर्षदेखि नगरपालिकालाई अनुरोध गरेको तर नहटाएकोले आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताउनुभयो ।
त्यस्तै संघका पूर्व अध्यक्ष तोरण बहादुर मगरले आफूहरुले बहाल कर, व्यवसाय कर समेत तिरीरहेकोले निकासी कर पनि थपिँदा मारमा परेको बताउनुभयो । उहाँले निकासी करकै कारण आफूहरुलाई व्यवसायमा टिक्न समेत मुस्किल परेको बताउनुभयो ।
त्यस्तै व्यवसायीहरुको आन्दोलनलाई आफूहरुले पनि समर्थन गरेको कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद थपलियाले बताउनुभयो । निकासी करका कारण बाहिरी बजारहरुमा जाने तरकारी महंगोमा बेच्नु परेको महंगो दाम परेपछि यहाँबाट गएका तरकारी नबिक्दा व्यवसायीलाई मार परेको बताउनुभयो ।
उहाँले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकोले उनीहरुको माग सम्बोधन गर्न आफूहरुले ज्ञापनपत्र मार्फत नगरपालिकाको ध्यानाकर्षण समेत गराएको बताउनुभयो ।