भाइरल पोष्ट, लालबन्दी
असार ४ गते । लालबन्दीमा उत्पादित वस्तुहरुको बजारीकरणका लागि यहाँका महिला उद्यमी र व्यवसायीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिकाको लैंगिक विकास तथा समाज कल्याण शाखाले लालबन्दी ९ स्थित युनाईटेड होटलको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रम लालबन्दी नगरपालिकाकी उप–मेयर कल्पनामाया पाख्रिनको अध्यक्षतामा सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उप–मेयर कल्पनामाया पाख्रिनले यहाँ उत्पादित वस्तुहरुको बजारीकरणका लागि कोसेली घर निर्माण गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले उद्यम विकास कार्यक्रम अन्तरगत सिप सिकेर लघु उद्यम सञ्चालन गरिरहेका महिला उद्यमीहरुले उत्पादन गरेको उत्पादनलाई बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, उद्योग वाणिज्य संघ लालबन्दीका पूर्व अध्यक्ष दिपेन्द्र बलम्पाकी, होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका कोषाध्यक्ष ऋषि धिताल, लैंगिक विकास तथा समाज कल्याण शाखाकी संयोजक डाँक कुमारी फुयाँलको आतिथ्यता रहेको थियो ।
लैंगिक विकास तथा समाज कल्याण शाखाकी दुर्गा आचार्यले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन रमेश कुमार घिमिरेले गर्नु भएको उद्यम विकास कार्यक्रम(मेडपा)का संयोजक समीर सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रममा मह उद्यमी उषा थपलिया, कपडा झोला उद्यमी राधिका खड्का, झोल सावुन उद्यमी बाल कुमारी गोले, मिठो पिठो अचार उद्यमी मालती दाहाल/स्वर्णिम लामा, टमाटर सस उद्यमी पदम बहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।