भाइरल पोष्ट, हरिपुर
असार ४ गते । सर्लाहीको हरिपुरमा मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिम सुरु भएको छ ।
नगर प्रमुख मेयर गोपाल पंजिायरको अध्यक्षता तथा न्यायिक समिति संयोजक उपमेयर निलमदेवी रायको समुपस्थितिमा शुरु भएको तालिम हरिपुर नगरपालिका न्यायिक समितिको कार्यालयले आयोजना गरेको हो ।

प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले सहजीकरण गरिरहेको तालिममा नगरपालिकामा सूचितकृत रहेका नगरका ९ ओटै वडाका मेलमिलापकर्ता, न्यायिक समितिका सदस्य तथा न्यायिक समितिमा कार्यरत कर्मचारीहरुसहित २७ जनाको सहभागिता रहेको छ । तालिमले मेलमिलापकर्ताहरुको मेलमिलापसम्बन्धी क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
तालिम उद्घाटनको अवसरमा आफ्नो धारणा राख्नुहुँदै मेयर गोपाल पंजियारले तालिमले नगरको न्याय सम्पादनमा उल्लेख्य सुधार आउने बताउनुभयो । उहाँले मेलमिलापसम्बन्धी तालिम दिने व्यक्तिको रुपमा प्रशिक्षक पार्वती विश्वकर्माले नेपालमै ख्याति कमाउनु भएकोले उहाँले दिने तालिमले यहाँका मेलमिलापकर्ताहरुको ज्ञानको स्तर माथि पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै उपमेयर एवम् न्यायिक समिति संयोजक निलमदेवी रायले ढिलै भएपनि मेलमिलापसम्बन्धी तालिम सञ्चालन गर्न पाउँदा खुशि लागेको बताउनुभयो । उहाँले तालिम लिएर नगरको न्याय सम्पादन प्रक्रियामा सहयोग गर्न सहभागि तथा मेलमिलापकर्ताहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै तालिमकी प्रमुख प्रशिक्षक समेत रहनु भएकी प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले संविधान जारी भएपश्चता ऐन नियमहरुमा पनि परिवर्तन आएकोले यो तालिमले नयाँ कुराहरु थाहा पाउन सहयोग पुग्ने बताउनुभयो ।
उहाँले आफूले विगत २२ वर्षभन्दा बढी समयदेखि नै मेलमिलापको क्षेत्रमा काम गरेको अनुभव बटुलेको भन्दै त्यो अनुभवहरुलाई सहभागिहरुसँग बाड्ने बताउनुभयो ।
८ दिने तालिममा सहभागिहरुलाई स्रोत व्यक्ति विश्वकर्मासहित चित्र बहादुर विश्वकर्मा, भिम बहादुर विश्वकर्मा र प्रज्ञा सापकोटाले मेलमिलापसम्बन्धी सीप प्रदान गर्नुहुने न्यायिक समितिको कार्यालयका कर्मचारी नवलकिशोर रायले जानकारी दिनुभयो ।