भाइरल पोष्ट, चन्द्रनगर
असार १ गते । जिल्लामै पहिलो पटक चन्द्रनगर गाउँपालिकाले पशु स्वास्थ्य घुम्ती सेवा सुरु गरेको छ । घुम्ती सेवा प्रत्येक महिना १६ दिनसम्म चल्ने छ ।
चन्द्रनगर गाउँपालिका पशु सेवा शाखाको आयोजनामा आजबाट सुरु भएको पशु स्वास्थ्य घुम्ती सेवाको गाउँपालिका अध्यक्ष राजकुमार महतोले शुभारम्भ गर्नुभयो । चन्द्रनगरमा रहेको ७ वटै वडाको विभिन्न टोलमा १ गते देखि घुम्ती सेवा सुरु भई १६ गते सम्म चल्ने र यो प्रकृया बाह्रै महिना शुचारु रहने गाउँपालिका अध्यक्ष महतोले बताउनुभयो ।
पशु स्वास्थ्य घुम्ती सेवा समय तालिकाअनुसार आज वडा नं १ स्थित लघुवामा घुम्ती सेवा प्रदान गरिएको थियो भने असार २ गते वडा नम्बर १ कै किसनपुर र रतनपुरमा सेवा दिईने छ । त्यस्तै असार ३ गते वडा नं २ स्थित बिर्ताबजारमा, ४ गते दनुवारीटोलमा, ५ गते वडा नं ३ स्थित कोरियाहीटोल ६ गते, नाथुटोल ७ गते, बडकुर्वा ८ गते, वडा नं ४ स्थित गरहाटोल ९ गते, पोखरीया १० गते, वडा नं ५ स्थित फरिदटोल ११ गते, मोहनपुर १२ गते, वडा नं ६ स्थित कामद १३ गते, बिलैया बजार १४ गते र वडा नं ७ स्थित खडकाटोल१५ गते, चन्द्रनगरमा १६ गते पशु स्वास्थ्य घुम्ती सेवा सुरु हुने पशु प्राविधिक राकेश कुमार महतोले जानकारी दिनुभयो ।
पशु स्वास्थ्य घुम्ती सेवा सुरुमा चौपायाहरुको निःशुल्क उपचार तथा औंषधी प्रदान गरिनेछ । यस्तो अभ्यास सर्लाहीमै पहिलोपटक गरिएको वडा नं १ का वडा अध्यक्ष रामेश्वर महतोले बताउनुभयो ।