भाइरल पोष्ट, रौतहट
जेठ ३० गते । रौतहटको दुई ओटा पालिकाका ४१ जना बालविकास शिक्षकहरुलाई ईसिडि पाठ्यक्रम र समावेशी शिक्षा सम्बन्धी १० दिने आधारभूत तालिम दिइएको छ ।
मलंगवामा रहेको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके) सर्लाहीले गरुडा र माधवनारायण नगरपालिकाका ४१ जना बालविकास शिक्षकहरुलाई चन्द्रपुरस्थित तराई ईन होटलमा राखेर तालिम दिएको हो ।
सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै सम्पन्न भएको तालिममा मेरीगोल्ड कन्सल्टेन्सीका प्रशिक्षकद्वय सोनी पौडेल तामाङ्ग र लक्क्षिणा थापा क्षेत्रीले छुट्टा छुट्टै समूहमा राखेर बालविकास कक्षाको पाठ्यक्रम, शिक्षण सामाग्री निर्माण र प्रयोग गर्ने तौरतरिकाबारे सिकाउनु भएको थियो । प्रशिक्षकद्वयले विशेषगरी ६ सिकाइ कुनाको परिचय र सामग्री निर्माण तथा व्यवस्थापन सम्बन्धी सीप प्रदान गर्नुभएको थियो । ६ सिकाइ कुनाको प्रयोग गरि बालबालिकाको शारीरिक विकास सम्बन्धि सिकाईको नमूना गतिविधि समेत तालिमको क्रममा प्रदर्शन गराइएको थियो । त्यस्तै बालबालिकाको विकासको पक्ष समेटेर विभिन्न सामग्री निर्माण गर्नुको साथै दैनिक कार्यतालिका समेटेर उनीहरुको सम्वेगात्मक विकास, संस्कृतिक विकासको पक्षलाइ जोड दिएर नमुना कक्षा संचालन गरिएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रशिक्षक सोनी पौडेल तामाङ्गले बालबालिकाले सिक्नका लागि खेल्दैनन् तर खेल्दै सिक्दन् भन्ने कुरालाई बालविकास शिक्षकहरुले सधैं ध्यान दिनु पर्ने बताउनुभयो । उहाँले सिकेका कुरा आजको आजै नभई विस्तारै व्यवहारमा प्रयोग गर्न सकिने भएकोले शिक्षण सिकाई सीपलाई निरन्तर प्रयोग गर्न सहभागि शिक्षक प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै तालिमको अनुभव सुनाउँदै सहभागिहरुले १० दिने तालिमले आफूहरुलाई धेरै कुरा सिकाएको बताएका थिए । उनीहरुले तालिम अत्यन्तै प्रभावकारी भएको र धेरै कुरा सिक्न पाएकोले आफूहरुले सिकेका कुरालाई व्यवहारमा उतार्ने वचनवद्धता व्यक्त गरेका थिए ।

त्यस्तै गरुडा नगरपालिकाको शिक्षा शाखाका सह–संयोजक शेख चाँद अलिले फलको आशा लिएर किसानले खेतमा विउ रोपे जस्तै केही सिक्ने आशामा अभिभावकले शिक्षकहरुलाई बालबालिका सुम्पने गरेकोले शिक्षकहरुले राम्रो फल दिन सक्नु पर्ने बताउनुभयो ।
त्यस्तै गरुडाकै शिक्षा शाखा प्रमुख सरोज गौतमले १० दिने आधारभूत तालिमले सहभागिहरुमा केही गर्ने इच्छाशक्ति जागेको आफूले महसुस गरेको बताउनुभयो ।
त्यस्तै समावेशी शिक्षा सुदृढीकरण सिकाई प्लसका परियोजना व्यवस्थापक आदित्य पटेलले शिक्षक तालिम सिकाई प्लस परियोजनाको प्रमुख पाटो भएको बताउनुभयो । उहाँले स्तरीय शिक्षण सीपले नै गुणस्तरीय शिक्षण सिकाई सम्भव हुने भएकोले शिक्षकहरुलाई दिइने तालिमले बालबालिकालाई नै फाईदा पुग्ने भएकोले परियोजनाले शिक्षकहरुलाई तालिम प्रदान गर्ने गरेको बताउनुभयो ।
त्यस्तै वल्र्ड भिजन ईन्टरनेशनलका पाण्डव रसाईलीले सीप भनेको हतियारमा धार लगाए जस्तै भएको बताउनुभयो । हरितयारमा धार लगाएर प्रयोग नगरी राखे त्यसले काम गर्दैन त्यस्तै सिप सिकेर प्रयोग गरिएन भने त्यसको महत्व हुँदैन । त्यसैले आफूले सिकेका सिपको भरपूर प्रयोग गर्नु होला भन्दै उहाँले प्रशिक्षार्थीहरुलाई शुभकामना दिनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी गरुडा नगरपालिकाका मेयर कन्धमणि प्रसाद कलवारले १० दिने आधारभूत तालिम माधवनारायण र गरुडा दुबै नगरपालिकाले लागि ऐतिहासिक भएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको जग नै बालविकास भएकोले बालविकास शिक्षकहरुलाई दिइएको तालिमले रौतहटकै शिक्षामा आमूल परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले रौतहट शिक्षामा निकै कमजारे सावित भइरहेको बेला यो तालिमले कमसेकम गरुडा र माधवनारायणको शिक्षामा आमूल परिवर्तन ल्याउन सक्ला भन्ने विश्वास व्यक्त गर्नुभयो ।
आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा प्रशिक्षकद्वय सोनी र लक्क्षिणालाई सम्मानपत्र र मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रममा वल्र्डभिजन इन्टर नेशननलका केशव सिग्देल, परियोजनाका सहजकर्ता राजनारायण साह तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके), सर्लाहीको साझेदारीमा सञ्चालित गुणस्तरीय तथा समावेशी शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजना मधेश प्रदेशका अति जोखीममा रहेका बालबालिकाको आधारभूत शिक्षामा समान पहुँच र सहभागिता वृद्धि गर्ने र समतामूलक सिकाइ उपलब्धि हासिल गर्ने लक्ष्यका साथ सञ्चालन हुदँै आएको संस्थाको संयोजक नागेन्द्र प्रसाद शाहले बताउनु भयो ।
साथै यो परियोजना सर्लाही जिल्लाको हरिपुरर्वा नगरपालिका, पर्सा, चन्द्रनगर, ब्रहम्पुरी गाउँपालिका र रौतहट जिल्लाको गरुडा र माधव नारायाण नगरपालिकामा सञ्चालनमा रहेको छ ।