भाइरल पोष्ट, लालबन्दी
जेठ २६ गते । उद्योग वाणिज्य संघ लालबन्दीको सातौं अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी महेश कुमार महतो निर्विरोध निर्वाचित हुनु भएको छ ।
अघिल्लो कार्यसमितिमा उपाध्यक्ष रहनु भएका नव निर्वाचित अध्यक्ष महतोको प्यानल नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
पूर्व अध्यक्ष कल्याण कुमार जोशी संयोजक रहेको निर्वाचन समितिले दिएको जानकारी अनुसार उमेदवारी दर्ताको क्रममा अध्यक्ष पदका उमेदवार महतोको प्यानलबाहेक कसैको उमेदवारी नपरेको र ती उमेदवारहरुमाथि कुनै दाबी विरोध पनि नआएकोले स्वतः निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

अधिवेशनबाट अध्यक्षमा महतोसहित वरिष्ठ उपाध्यक्षमा मेघाश्री हार्डवेयरका रामप्रसाद देवकोटा, उद्योगतर्फको उपाध्यक्षमा होटल रानीवनका विशाल थापा, वाणिज्य तर्फको उपाध्यक्षमा माँ भवानी इन्टरप्राईजेजका राम कुमार चौधरी निर्वाचित हुनु भएको छ ।
त्यस्तै महासचिवमा बाबा जनरल स्टोरका गोपाल बहादुर श्रेष्ठ, कोषाध्यक्षमा गढीमाई जेनरल स्टोरका विक्रम खड्का, उप–महासचिवमा माता दुर्गा गोल्ड एण्ड सिल्भरक संजित शंकर, सचिवमा वेलकम रेष्टुरेण्टकी कमला कुमारी थापा, सह–कोषाध्यक्षमा दुर्गा भगवती जेनरल स्टोरका सुधीर कुमार गुप्ता निर्वाचित हुनु भएको छ भने अन्य सदस्य गरी २१ सदस्यीय कार्यसमिति नै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
संघको तीन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भए लगतै नवनिर्वाचित अध्यक्ष महतोले भाइरल पोष्टसँगको कुराकानीका क्रममा आफू निकै खुशि भएको प्रतिक्रिया दिनुभयो ।
महेश हार्डवेयरको सञ्चालक समेत रहनु भएका नव निर्वाचित अध्यक्ष महतो २०६२ सालदेखि संघमा आवद्ध हुनुहुन्छ र लालबन्दीमा लामो समय देखि व्यवसाय गर्दै आईरहनु भएको छ । उहाँले उपभोक्ताको समेत आवश्यकतालाई ध्यानमा राख्दै सबैको साथ, सहयोगमा व्यवसायीको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले संघको गरिमालाई उच्च राख्न संघ बाहिर रहेका व्यवसायीलाई संघमा आवद्ध गराउने, व्यवसायीक करमा थोरै रकम थप गर्न लगाएर व्यवसायी राहत कोष स्थापना गर्ने लगायतका योजना सुनाउनुभयो ।
उहाँले चेम्वरअफ कमर्स लगायतसँग आवश्यक सहकार्यलाई निरन्तरता दिने र यहाँका व्यवसायीलाई भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न थप सुरक्षित वातावरण निर्माण गर्न लाग्ने प्रतिवद्धता समेत जनाउनुभयो ।