भाइरल पोष्ट, लालबन्दी
जेठ २३ गते । लालबन्दी नगरपालिका–१७, साहेवगञ्जका स्थानीयले बाटोसम्बन्धी विवाद मिलाउन पाँच बुँदे साझा सहमतिमा हस्ताक्षर गरेका छन् ।
वडाअध्यक्ष विष्णुहरी अधिकारीको अध्यक्षतामा बसेको द्वन्दमा संलग्न पक्ष तथा सरोकारवालाहरुको संयुक्त बैठकले यहाँस्थित पानपाते चौतारो पूर्व र खासगरी पश्चिमतर्फ नक्सा अनुसारको ३० फिटे बाटो निर्माणमा कुनै अवरोध नगर्ने सहमति गरेका हुन् ।
यहाँ नक्साअनुसारको बाटो निर्माणमा पटक–पटक विवाद आएपछि प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले गत मंसिर ६ गतेदेखि द्वन्द रुपान्तरणको प्रक्रिया थालेको थियो । जसअनुरुप द्वन्दमा संलग्न पक्ष तथा सरोकारवालाहरुकै संलग्नतामा माकुरा समूह निर्माण गरी उनीहरुलाई तालिम समेत प्रदान गरी माकुरा समूहकै पहलमा पटक–पटक विभिन्न चरणका वैठक तथा छलफल गरी द्वन्द समाधानको साझा सहमतिको प्रस्ताव तयार गरेको हो ।
बैठकमा केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति पार्वती विश्वकर्माले साझा सहमतिको बुँदाहरु प्रस्तुत गर्नु भएको थियो । जसअनुसार पानपाते चौतारो पश्चिम अशोकको रुखसम्म हाललाई ३० फिटको बाटो निकाल्ने, नक्साको बाटो ३० फिट नभएको स्थानमा बाटो विचभागलाई पोइन्ट मानी दुबैतर्फबाट बराबरी जग्गा लिएर ३० फिट पु¥याउने, ३० फिट बाटोभित्र पर्ने घर, टहरा र अन्य संरचना आगामी मंसिर मसान्त सम्म खाली गर्ने÷हटाउने, ३० फिटभन्दा बढी रहेको नक्साको बाटोको हकमा राज्यले गर्ने निर्णय मान्य हुने र सहमति कार्यान्वयनका क्रममा कुनै समस्या आए आपसी सहमति, सहकार्य र संवादमार्फत् समाधान गर्ने रहेको छन् ।

साझा प्रस्तावमा लालबन्दी नगरपालिकाको तर्फबाट उपमेयर एवम् न्यायिक समिति संयोजक कल्पना माया पाख्रिन, वडा कार्यालयको तर्फबाट वडाअध्यक्ष विष्णुहरी अधिकारी, द्वन्दमा संलग्न पक्षहरुको तर्फबाट कुसुम कुमारी महतो, लिला खड्का, गुमानसिंह पौडेल, गोकर्ण बोहोरा, भगवान थापा, कृष्ण नेपाल, सरोकारवालाका तर्फबाट लक्ष्मीप्रसाद गौतम, तारा बलम्पाकी लगायतले हस्ताक्षर गर्नुभएको छ । त्यस्तै प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रको तर्फबाट पार्वती विश्वकर्मा, प्रज्ञा सापकोटा तथा माकुरा समूहका सदस्यहरुले हस्ताक्षर गर्नुभएको छ ।
केन्द्रकी जिल्ला सहजकर्ता प्रज्ञा सापकोटाले सञ्चालन गर्नु भएको साझा सहमतिको प्रस्ताव पारित गर्न आयोजित बैठकमा वडाअध्यक्ष अधिकारीले प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले यहाँको बाटोको विवाद समाधानको लागि काम गरेर सराहनीय कार्य गरेको भन्दै धन्यवाद दिनुभयो । उहाँले तुरुन्तै यहाँ बाटो निर्माणको प्रक्रिया सुरु गर्ने बताउनुभयो ।
‘हुन त विगतमा यही बाटो कालोपत्रेका लागि भनेर आएको करोडौं बजेट फ्रिज भयो । उतिबेलै सहमति भएको भए यहाँको मुहार नै फेरिन्थ्यो होला । अहिले सबैतिरको बाटो बनिसक्यो तर यहाँ भने विवादकै कारण केहीगर्न सकिएको छैन अब गर्छु ।’,‘वडाअध्यक्ष अधिकारीले भन्नुभयो,‘मलाई मात्रै चाहिएको जसरी म विकासको काममा लागि रहेको छु । तपाईहरु अवरोध गर्नुहुन्छ अनि वडाअध्यक्षले गरेन भन्नुहुन्छ । विकासको काममा बाधा हालेर वडाअध्यक्षले गरेन भन्नु दुःखद छ । तर अब ढिलै भएपनि तपाईहरु यहाँको बाटो विस्तार गर्न सहमत हुनुभयो खुशि लाग्यो अब भोलि नै बाटो विस्तारको प्रक्रिया अघि बढाउँछु ।’
प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले जल, जमिन, जङ्गल जस्ता प्राकृतिक स्रोतको स्वामित्व र उपभोगलाई लिएर समुदायमा दुई वा सोभन्दा बढी पक्षबीच उत्पन्न विवाद रुपान्तरणमा काम गर्दै आई रहेको छ । द्वन्द रुपान्तरणको विभिन्न प्रक्रियाहरु अवलम्बन गरी विवाद समाधानको साझा सहमति निकाल्ने गरेको केन्द्रले हालसम्म मिलाएका विवादहरु सधैंका लागि मिल्ने गरेको देखिन्छ ।