भाइरल पोष्ट, लालबन्दी
जेठ २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–५ चिरान टोलमा मङ्गलबार बिहान भएको आगलागीमा एक भैसीगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट दुईवटा चौपाया पनि घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार बिहान करिब ४:३० बजेको समयमा नईम खाँ पठानको गोठमा बालिएको घुरबाट अचानक आगो सल्किएर गोठमा फैलिएको थियो। आगलागीले गोठमा राखिएको भैसीलाई खुवाउने ब्रान, भाँडा, भिस, टिकको काठ लगायत सामग्री जलेर पूर्णरूपमा क्षति पुगेको छ। गोठमा रहेको एक भैसी र एक पाडीसमेत जलेर घाइते भएका छन्।
प्रारम्भिक मूल्याङ्कनअनुसार आगलागीबाट करिब दुई लाख चौबिस हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगो स्थानीयबासीको सहयोगमा बिहान ५:०० बजेसम्ममा नियन्त्रणमा लिइएको थियो।
घटनाको जानकारी बिहान ६:०० बजे प्रहरी चौकी फुलजोरमा प्राप्त भएको थियो। त्यसपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल फुलजोर प्रहरी चौकीबाट करिब ४ किलोमिटर दक्षिणमा पर्ने बताइएको छ।
प्रहरीले आगलागीको थप अनुसन्धान गरिरहेको जनाएको छ।