सोम दियाली, लालबन्दी
जेठ २० गते । लालबन्दीमा उपभोग अयोग्य ७०केजी विषादीयुक्त बोडी नष्ट गरिएको छ । आज विहान कृषि थोक बजार लालबन्दीमा विक्रीका लागि ल्याइएको उक्त परिमाणको बोडी विषादी परिक्षणपछि नष्ट गरिएको हो ।
बागमती नगरपालिका १० शंकरपुरबाट स्थानीय हरिन्द्र महतोले लालबन्दीमा विक्रीका लागि ल्याएको बोडी विषादी परिक्षणका क्रममा अत्यधिक विषादी प्रयोग भई खान अयोग्य देखिएपछि कृषि थोक बजार व्यवस्थापनसमितिका अध्यक्ष प्रमोद थपलिया, व्यवस्थापक शम्भु घिमिरे, स्थानीय व्यापारी, किसान र सुरक्षाकर्मी समेतको रोहवरमा नष्ट गरिएको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार समितिले सञ्चालन गरेको विषादी अवशेष द्रूत प्रयोगशालामा परीक्षण गर्दा उक्त बोडीमा अध्यधिक विषादी प्रयोग भएको पाइएको थियो । विषादी अवशेष द्रूत विश्लेषण कार्यक्रम सञ्चालन निर्देशिका २०७५ को अनुसूची ३, ४ र ५ अनुसार उक्त बोडी उपभोगका लागि अयोग्य भएकोले नष्ट गरिएको थियो ।
अत्यधिक विषादी प्रयोग भएको तरकारीको सेवनले उपभोक्ता र मानव स्वास्थ्यमा नकरात्मक असर गर्ने भएकोले व्यवस्थापक घिमिरेले यहाँ विक्रीका लागि ल्याईने तरकारीको नियमित विषादी परिक्षण गर्ने गरिएको बताउनुभयो । उहाँले अत्यधिक विषादी प्रयोग भएका तरकारी विक्री वितरण नगर्न समेत सबैलाई आग्रह गर्नुभयो ।