सोम दियाली, लालबन्दी
जेठ १८ गते । जेठ २ गते स्वास्थ्य कार्यालय सर्लाहीको निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका तथ्यांक अधिकृत लालबाबु रायको जिम्मेवारी खोसिएको छ ।
मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८२ वैशाख ३० गतेको मन्त्रीस्तरीय निर्णय गरी रायलाई यहाँ कार्यालय प्रमुखको जिम्मेवारी दिएको थियो । रायले जेठ २ गते तामझामका साथ प्रमुखको जिम्मेवारी सम्हालेका थिए । तर जिम्मेवारी सम्हालेको तीन हप्ता पनि नपुग्दै मन्त्रालयले आफनो निर्णय उल्टाउँदै उहाँलाई प्रमुखको जिम्मेवारीबाट हटाएर डा.नवलकिशोर झालाई नै प्रमुखको जिम्मवारी दिएको छ ।
तथ्यांक अधिकृत रायको जिम्मेवारी खोसेर पुनः झालाई नै कार्यालय प्रमुखको जिम्मेवारी दिएपछि जिल्लाका स्वास्थ्यकर्मीहरुले विरोध जनाएका छन् । उनीहरुले संयुक्त वैठकबसी डा.झालाई कार्यालय प्रमुख स्वीकार्न नसकिने निर्णय गर्दै झा कार्यालय प्रमुख रहँदा स्वास्थ्य कार्यालयमा भएका चरम अनियमितताको छानविन गर्न समेत प्रशासन समक्ष गरेका छन् ।
जिल्लाका २० ओटै पालिकाको स्वास्थ्य शाखा संयोजक, सह–संयोजक तथा स्वास्थ्यकर्मीहरुले तथांक अधिकृत लालबाबु रायलाई नै कार्यालयको प्रमुखमा यथावत राख्नुपर्ने, डा.नवलकिशोर झा लाई कार्यालय प्रमुख मान्न नसकिने र डा.झाको समयमा स्वास्थ्य कार्यालयमा भएको अनियमितताको छानबिन हुनु पर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
डा.झाको दरबन्दी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै रहेको र विगत ४ वर्षभन्दा बढी समयदेखि स्वास्थ्य कार्यालय सर्लाहीको प्रमुख भई थप जिम्मेवारी अन्तरगत काम गरिरहँदा उहाँको पालामा स्वास्थ्य कार्यालयमा व्यापक अनियमितता बढेको स्वास्थ्यकर्मीहरुको आरोप छ । उनीहरुले डा.झा प्रमुख भएको बेलाको आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ मा भएका खर्चहरुको अनुसन्धान गर्न अख्तियार कार्यालयमा उजुरी दिने समेत निर्णय गरेका छन् ।
एक स्वास्थ्यकर्मीले भने, ‘प्रदेश निजामति ऐन र नियमावली अनुसार एउटै कर्मचारीलाई एक वर्षमा ३ महिनाभन्दा बढी काजमा राख्न पाईँदैन । तर झा विगत ४ वर्षदेखि स्वास्थ्य कार्यालय सर्लाहीमा प्रमुख छन् ।’ स्वास्थ्यकर्मी भन्नुहुन्छ, ‘काज सकिएपछि कसैलाई प्रमुख तोकेर पठाउनु पर्छ नत्र भने कार्यालयको स्वीकृत दरबन्दीमा भएका सिनियरमध्येलाई प्रमुख तोक्नुपर्छ भनेर विद्यमान ऐन तथा नियमावलीमा प्रष्ट व्यवस्था छ । तर स्वास्थ्य कार्यालयमा कानुन मिचेर ४÷४ वर्षभन्दा बढी समयदेखि एउटै कर्मचारी जस्को त्यहाँ कार्यालयमा दरबन्दी नै छैन उसैलाई काजमा कार्यालय प्रमुख दिइएको छ । यो सरारस नियमविपरीत हो । यस्तो हुनु भनेको मोटो पैसाको चलखेल नै हो । ’
ती स्वास्थ्यकर्मीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र आफ्नै सम्बन्धित मन्त्रालयले गरेको निर्णय समेत कार्यान्वयन गर्न नसक्नु लाजमर्दो विषय भएको बताउनुभयो । उहाँले सबै पैसाकै चलखेलमा जिल्लामा फोहोरी हर्कत भईरहेको बताउनुभयो । यस्ता यस्ता फोहोरी हर्कत हुँदा सम्म मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय मुकदर्शक बन्नु थप लाजमर्दो विषय भएको बताउनुभयो ।
तथ्यांक अधिकृत रायको जिम्मेवारी खोसिएपछि डा.नवलकिशोर झाले प्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।