भाइरल पोष्ट, सर्लाही
जेठ १५ गते । जनमत पार्टी सर्लाहीले जिल्लाको दुई सय ओटै वडामा आज साँझ दिप प्रज्वल गरी गणतन्त्र दिवस मनाउने भएको छ ।
सो पार्टीका जिल्ला इन्चार्ज यूवा नेता श्रीचन यादव(सुजन)ले आज १७ औं गणतन्त्र दिवसको शुभकामना दिनु हुँदै दिवसका अवसरमा जिल्लाका सबै वडामा दीप प्रज्वलनसहित शुभकामना आदान प्रदान गर्दै दिवस मनाउन लागिएको बताउनुभयो ।
गणतन्त्र दिवस २०८२ को अवसरमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संघर्षमा महान जनयुद्ध, संयुक्त जनआन्दोलन र मधेश आन्दोलनलगायतका आन्दोलनहरूमा बलिदानी दिने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली र आम उत्पीडित वर्ग तथा जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै नेता यादवले वडा वडामा दीप प्रज्वलन गरी गणतन्त्र दिवस हर्षोउल्लासका साथ मनाउन पार्टीका सबै वडा कमिटीलाई निर्देशन दिनुभयो ।
उहाँले नेपाली जनताको कठोर संघर्ष पश्चात व्यवस्था परिवर्तन भएपनि अवस्थामा खासै परिवर्तन नआएको बताउनु भयो । साथै उहाँले गणतन्त्र दिवसको अवसरमा पूर्ण लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका लागि एकजुट भएर अगाडि बढ्न सबैमा हार्दिक अनुरोध गर्नुभयो ।
‘अहिले गणतन्त्रमाथि धावा बोल्नेहरु बढ्दै गएको देखिए पनि गणतन्त्र भन्दा राम्रो व्यवस्था अरु कुनै छैन र हुनै सक्दैन । केही नेताहरुको मनपरिलाई लिएर व्यवस्थामाथि नै प्रश्न गर्नु गलत हो ।’, नेता यादवले भन्नुभयो,‘नेता र नेतृत्वले सुध्रिनु पर्दछ । र यो संघीय लोकतान्त्रिक व्यवस्थालाई युगयुगसम्म बचाई राख्नु पर्दछ ।’ नेता यादवले गणतन्त्रको विरुद्ध बोल्नेहरुलाई होसियार रहन समेत आग्रह गर्नुभयो ।
२०६५ सालमा जननिर्वाचित संविधान सभाको पहिलो बैठकले २४० वर्षे निरंकुश राजतन्त्रको अन्त्य गर्दै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो । नेपालमा गणतन्त्र आएको आज १७ वर्ष पुगेको छ ।