भाइरल पोष्ट, लालबन्दी
जेठ १० गते । लालबन्दीमा लागू औषध विरुद्धको तीन दिवसीय तालिम सम्पन्न भएको छ ।
वल्र्ड भिजन ईन्टरनेशनलको सहयोग र बागमती सेवा समाज नेपालको आयोजनामा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका किशोरकिशोरीलाई लक्षित गरी तालिम प्रदान गरिएको बागमती सेवा समाज नेपालको बाल स्पोन्सरसिप परियोजनाका संयोजक प्रमेश बादेले जानकारी दिनुभयो । तालिम लालबन्दी ९ स्थित पुरानो युनाईटेड होटलमा सम्पन्न भएको थियो ।

तीन दिने तालिमको अनुभव सुनाउँदै सहभागि नितेश कुमार साहले आगो सल्किए झैं फैलिरहेको लागू औषध दुव्यसन नेपालमा पनि भयावह बन्दै गएको बताए । उनले लागू औषधको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न तालिमले किशोरकिशोरीहरुलाई ठुलो मदत मिलेको बताए ।
त्यस्तै हरिपुर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियारले पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकाकामा लागू पदार्थ सेवन कर्ता बढेको बताउनु भयो । उहाँले लागू पदार्थ सम्बन्धि नगरपालिकाको तर्फबाट जनचेतनामूलक कार्यक्रम गर्न मिल्ने तर जटिल किसिमको कार्यक्रम गर्न नमिल्ने बताउनु भयो । उहाँले बागमती सेवा समाजले दक्षिणी क्षेत्रका पर्सा र हरिपुर्वामा लागू औषध नियन्त्रणसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेर किशोरकिशोरीहरु, उनीहरुका अभिभावकहरु र सरोकारवालाहरुलाई समेत जिम्मेवार बनाउने काम गरेको बताउनुभयो ।
त्यस्तै वल्र्ड भिजन ईन्टरनेशन नेपाल सर्लाहीकी संयोजक सीता चौधरीले लागू औषध विरुद्ध समुदायलाई जागरुक बनाउन तालिमका सहभागीलाई आग्रह गर्नुभयो । पर्सा गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रघुनाथ साहले लागू पदार्थ दुर्वसनी ठुलो चुनौतीको रुपमा खडा भएको बताउनुभयो । उहाँले अब गाउँसभाबाट बजेट छुटयाएर लागू औषध विरुद्ध अभियान सञ्चालन गर्ने बताउनुभयो ।
त्यस्तै बागमती सेवा समाज नेपालका पुर्व अध्यक्ष भरत कार्कीले लागू पदार्थ दुर्वसनी, बाल बिबाह लगायतका कुरीति रोक्ने अभियानमा लाग्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । उहाँले गैरसरकारी संघसंस्थाको मात्रै प्रयासले लागूऔषध नियन्त्रण गर्न कठिनाई रहेकोले पालिकाहरुले पनि यसमा उल्लेख्य भूमिका खेल्नुपर्ने बताउनुभयो ।
समापन कार्यक्रममा हरिपुर्वा नगरपालिकाकी उपमेयर सुमित्रा देवी ग्वारीन, पत्रकार लगायत प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।