भाइरल पोष्ट, सर्लाही
जेठ ९ गते । सर्लाहीका चार वटा पालिकाका बाल विकास कक्षाका शिक्षकहरुलाई पुर्नःताजगी तालिम दिइएको छ ।
जिल्लाको हरिपुर्वा नगरपालिका, पर्सा, चन्द्रनगर र ब्रह्मपुरी गाउँपालिका अन्तरगतका सामुदायिक विद्यालयका बाल विकास शिक्षकहरुलाई सिकाइ प्लस परियोजना मार्फत ५ दिने पर्नःताजगी तालिम प्रदान गरिएको हो ।

जेष्ठ ४ गते आईतबार देखि शुरु भएको तालिम जेष्ठ ८ गते बिहीबार हिजो सम्पन्न भएको थियो । तालिममा हरिपुर्वा नगरपालिकाका ८, ब्रहम्पुरीबाट १०, पर्साबाट ७ र चन्द्रनगरबाट १५ गरी ४० जना बालिविकास शिक्षकहरु सहभागी थिए । हरिपुर्वा नगरपालिका र ब्रहम्पुरी गाउँपालिकाको सहभागीहरुलाई एउटा र पर्सा र चन्द्रनगर गाउँपालिकाको सहभागीहरुलाई अर्को हलमा तालिम सञ्चालन भएको थियो ।
तालिमको सहजीकरण मेरिगोल्ड कन्सल्टेसीका प्रशिक्षक सोनी पौडेल तामाङ्ग र लक्क्षिना थापा क्षेत्रीले गर्नु भएको थियो । तालिम समापन कार्यक्रममा सहभागि शिक्षकहरुको प्रतिनिधित्व गर्दै सहभागी रुबी गुप्ता(ब्रह्मपुरी) र रीना कुमारी साह(चन्द्रनगर) ले तालिममा सिकेका कुरालाई बालविकास कक्षामा लागू गर्ने प्रतिबद्धता जनाउनुभयो ।

तालिममा सहभागीको सिकाइ अपेक्षा र बाल विकास केन्द्रको चुनौतीबारे गहन छलफल भएको थियो । प्रशिक्षकले एकीकृत प्रारम्भिक बाल विकासको परिचय तथा महत्वबारे पनि छलफल गराउनुभएको थियो । प्रशिक्षकले सहभागिहरुलाई ‘६ सिकाइ कुनाको परिचय र सिकाइ सामग्री निर्माण तथा व्यवस्थापन’ सम्बन्धि जानकारी समेत गराउनु भएको थियो । ६ सिकाइ कुनाको प्रयोग गरि शारीरिक विकास सम्बन्धि सिकाईको नमूना गतिविधि प्रदर्शन गराएको तालिममा प्रशिक्षकद्वारा भाषिक विकास सम्बन्धि सामाग्री निर्माण र सिकाइ क्रियाकलापको नमूना प्रस्तुति समेत गरिएको थियो ।
बालबालिकाको विकासको पक्ष समेटेर विभिन्न सामग्री निर्माण गर्नुको साथै दैनिक कार्यतालिका समेटेर सम्वेगात्मक विकास, संस्कृतिक विकासको पक्षलाई जोड दिएर नमुना कक्षा संचालन गरिएको थियो ।
अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाहीको साझेदारीमा सञ्चालित गुणस्तरीय तथा समावेशी शिक्षा सुदृढीकरण (सिकाइ प्लस) परियोजनाले मधेश प्रदेशका अत्ति जोखीममा रहेका बालबालिकाको आधारभूत शिक्षामा समान पहुँच र सहभागीता हुनेछ र समतामूलक सिकाइ उपलब्धि हासिल गर्ने लक्ष्यका साथ शैक्षिक सुधारका कार्यक्रमहरु सञ्चालन गरिरहेको संस्थाका संयोजक नागेन्द्र प्रसाद शाहले बताउनुभयो ।
सिकाई प्लस परियोजना सर्लाहीको चार पालिकासहित र रौतहट गरुडा र माधवनारायाण नगरपालिकामा सञ्चालनमा रहेको छ ।