भाइरल पोष्ट, लालबन्दी
जेठ ६ गते । सर्लाही प्रहरीको प्रमुख भई आउनु भएका प्रहरी उपरीक्षक(एसपी) योगेन्द्र कुमार खड्काले जिल्लामा लागू औषधको ओसारपसारमा कडा निगरानी बढाउनु भएको छ ।
मातहतका सबै प्रहरी ईकाइहरुलाई लागू औषध ओसारपसारमा कडा निगरानी गर्न निर्देशन दिए लगतै लालबन्दीबाट प्रहरीले एक सय बाह्र केजी लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका १४ का सोमबहादुर तामाङ रहेका छन् ।
नारायणखोलाबाट भारतीय नम्बरको स्कारपियो प्रयोग गरी गाँजा ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको कमाण्डमा खटिएको प्रहरीको टोलीले सोमबार राती अन्दाजी १० बजे भारतीय स्कारपियो र एउटा पल्सर मोटरसाईकल सहित तामाङलाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा गएको प्रहरीलाई देख्नासाथ गाँजा लोड गरिएको विआर३०एएन ०८१७ भारतीय नम्बरको स्कारपियो र लु३३घ ३८९४ नम्बरको पल्सर मोटरसाईकल छोडी भाग्दै गरेका तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा स्कारपियोमा गाँजा रहेको बताएपछि प्रहरीले खानतलासी गर्दा स्कारपियोको पछाडिको डिकीमा रातो प्लाष्टिकमा प्याक गरिएको गाँजाजस्तो देखिने बस्तु भेटिएपछि उक्त बस्तु, स्कारपियो, मोटरसाईकल र तामाङलाई पक्राउ गरिएको पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।
उहाँका अनुसार स्कारपियोमा भेटिएको गाँजाजस्तो देखिने वस्तुको तौल ११२ किलो ७८ ग्राम रहेको छ । पक्राउ परेका तामाङसहित स्कारपियो, मोटरसाईकल र बरामद गाँजा ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको छ ।
पक्राउ परेका तामाङमाथि जिल्ला अदालत सर्लाहीबाट ९ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको छ । पत्रकार सम्मेलनका क्रममा एसपी खड्काले पक्राउ परेका तामाङलाई लागूऔषध ओसारपसार सम्बन्धी कानून बमोजिम आवश्यक कार्वाही गरिने बताउनुभयो ।