सोम दियाली, लालबन्दी
जेठ ५ गते । प्रहरीले अरविन्द कुमार पण्डितको हत्या आरोपमा एक महिलासहित ६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
वैशाख २४ गते बेपत्ता भई ३० गते ईश्वरपुर नगरपालिका ८ थकरीया चौरीस्थित उखुबारीमा नचिनिने अवस्थामा मृत फेला परेका चन्द्रनगर गाउँपालिका १ किसनपुरका २८ वर्षिय अरविन्द कुमार पण्डितको हत्या आरोपमा जेठ २ गते पक्राउ परेका उनीहरुलाई प्रहरी सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका ६ का ४३ वर्षिय मोहम्मद हुसेन मोमिन, सोही ठाउँ बस्ने २९ वर्षिय मोस्तकिम अंसारी, २५ वर्षिय नजिमा खातुन, ४० वर्षिय सुयब अंसारी, २५ वर्षिय कोनूर आलम अंसारी र ५४ वर्षिय सलाउदिन अंसारी रहेका छन् । पक्राउ परेका नजिमा र मोस्तकिम श्रीमानश्रीमती हुन् ।
प्रहरीका अनुसार उनीहरुले अरविन्दलाई वैशाख २९ गते अन्दाजी विहान ९ बजे हत्या गरी घाँसपातले छोपेर घर फर्किएका थिए । त्यसपछि सोही राती अन्दाजी ९ बजेतिर लाशलाई थकरीया चौरस्थित उखुवारीमा फालेका थिए । जहाँ प्रहरीले लास फेला पारेको थियो ।
कसरी भयो अरविन्दको हत्या ? यस्तो छ घटना विवरण
–आरोपी मध्येका मोस्तकिम अन्सारीले आफ्नो श्रीमती चैत्र १९ गतेदेखि हराएको र अरविन्द कुमार पण्डितले भगाई लगेको हुनसक्ने भन्दै ईलाका प्रहरी कार्यालयमा चैत्र २६ गते खोजतलासका लागि निवेदन दिएको देखिन्छ ।
–गाउँघरमा बुझ्दै जाँदा मोस्तकिम अन्सारीको श्रीमती नजिमा खातुनलाई अरविन्द कुमार पण्डितले भगाई भारत लगेको खुल्न आएको र वैशाख १९÷२० गतेतिर अरविन्द र नजिमा नेपाल आएको बुझिएको ।
–गाउँमा बसेको पञ्च तथा भद्रभलाद्मीहरुले नजिमालाई मोस्तकिमकै साथमा घरमा मिलेर बस्न सहमति भएको ।
–सहमति पश्चात पनि अरविन्द नजिमाको घरमा आउने भेटघाट गर्ने गरेको खुल्न आएको ।
– अरविन्द नजिमाको घरमा आउन थालेपछि गाउँलेहरुले तनाव दिन थालेपछि नजिमाले नै अरविन्दलाई अरविन्दलाई मार्ने योजना बनाएको ।
– त्यसपछि वैशाख २८ गते विहान ८ बजे फुलजोरबाबा मन्दिर नजिक नजिमाले अरविन्दलाई बोलाएको र फुलजोर खोलातर्फ लगेको ।
– त्यसपछि नजिमाको योजना अनुसार नै अन्य व्यक्तिहरु पछ्याउँदै गई हत्या गरी एक सिसौको रुखमुनि घाँसपात र लहरीको घस्यौटाले छोपेर सबैजना घर फर्किएको ।
– हत्याको घटना ढाकछोप गर्न उनीहरुले राती अन्दाजी ९ बजे अरविन्दको शवलाई थकरिया चौरीस्थित उखुबारीमा लगेर फालेको ।
अनुसन्धानका क्रममा,
प्रहरीले गरेको अनुसन्धानका क्रममा हत्या आरोपमा पक्राउ परेका ईश्वरपुर ६ चिरानटोल बस्ने हत्या आरोपी मोहम्मद हुसेन मोमिनलाई पक्राउ गर्दा उनले लगाएको चप्पम मृतक अरविन्दको भएको खुलेको थियो । मृतक अरविन्दका बुवा उपेन्द्र पण्डितले उक्त चप्पल आफ्नो छोराको भएको सनाखत दिएका थिए ।
पक्राउ परेकाहरुमाथि जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद लिई अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनुभयो ।