भाइरल पोष्ट, मलंगवा
जेठ २ गते । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीमा नयाँ कार्यालय प्रमुख हाजिर हुनु भएको छ । स्वास्थ्य क्षेत्रमा नेपालकै टप तथ्यांक अधिकृतको पहिचान बनाउनु भएका तथ्यांक अधिकृत लालबाबु राय जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीमा कार्यालय प्रमुखको रुपमा विहिबार हाजिर हुनु भएको हो ।
मधेश प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरमा तथ्यांक अधिकृतको रुपमा कार्यरत तथ्यांक अधिकृत रायको सर्लाही आगमनलाई अत्यन्तै महत्वको साथ हेरिएको छ । उहाँको आगमनले जिल्लाको स्वास्थ्य क्षेत्रमा रहेका विकृति, विसंगति र गलत प्रवृतिलाई चिर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास यहाँका स्वास्थ्यकर्मीहरुले विश्वास व्यक्त गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा २७ वर्षभन्दा बढी अवधि व्यतित गर्नु भई लामो अनुभव बटुली सक्नु भएका रायलाई सर्लाहीमा बडो हर्षका साथ स्वागत गर्दै यहाँका स्वास्थ्यकर्मीहरुले ‘राईट म्यान ः राईट प्लेस’ भन्ने नारा लगाउँदै बधाई तथा शुभकामना दिएका थिए । बिहीबारै जिम्मेवारी सम्हालिसक्नु भएका उहाँलाई शुक्रवार पनि कार्यालयमै पुगेर जिल्लाका स्वास्थ्यकर्मी तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तित्वहरुले बधाई तथा शुभकामना दिई रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नुहुँदै रायले आफ्नो बुद्धि र अनुभवलाई जिल्लाको स्वास्थ्य क्षेत्रको सुधारमा भरपूर प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पद केही पनि होईन, थप जिम्मेवारी हो । यहाँहरु सबैको साथ सहयोगले म यो जिम्मेवारीमा छु । त्यसैले मेरा जीवनभरका अनुभवलाई यहाँको स्वास्थ्य क्षेत्रको सुधारमा खर्चिने छु ।’
उहाँले आफूले स्वास्थ्य क्षेत्रमा लामो समय विताएकोले तल्लो तहसम्म काम गर्ने स्वास्थ्यकर्मीहरुको मर्म राम्रोसँग बुझेकोले हिजो तथ्यांक अधिकृत भएर स्वास्थ्यकर्मीहरुसँग गरेको समन्वयलाई समेत कार्यालय प्रमुख भएर निरन्तरता दिने बताउनुभयो ।
उहाँको स्वागत सम्मान कार्यक्रममा जिल्लाका विभिन्न पालिकामा कार्यरत स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।