भाइरल पोष्ट, चन्द्रनगर ।
वैशाख २५ गते । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ६० जनाले रक्तदान गरेका छन् ।
विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी उपशाखा चन्द्रनगरले आयोजना गरको रक्तदान कार्यक्रममा ११ जना महिलासहित ६० जनाले रक्तदान गरेका हुन् ।

नेपाल शिक्षक महासंघको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखा र चन्द्रनगर गाउँपालिकाको संयुक्त अआयोजनामा नाढीमन ताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, रेडक्रस उपशाखा चन्द्रनगर तथा नेपाल शिक्षक महासंघ चन्द्रनगरका अध्यक्ष सरोज सिंहसहित रेडक्रस उपशाखा चन्द्रनगरका पदाधिकारी, चन्द्रनगर गाउँपालिकाका कर्मचारी, विभिन्न विद्यालयका शिक्षकशिक्षिका, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीयले समेत रक्तदान गरेका थिए ।
कार्यक्रममा सर्वप्रथम वडा नं २ निवासी स्थानीय राजकुमार महतोले रक्तदान गरेका थिए । त्यसपछि क्रमशः चन्द्रनगरका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी र स्थानीयहरुले गरेका थिए । विहानै देखि चलेको रक्तदान साँझ सम्मै चलेको थियो ।
सो अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्न सहयोग गर्ने गाउँपालिका कार्यालय, अध्यक्ष राजकुमार महतो, विभिन्न वडाका वडाअध्यक्ष तथा रक्तदानसहित कार्यक्रममा सहयोग गर्ने पाँच जना पत्रकारलाई समेत सम्मान गरिएको थियो ।
यसैबीच, विश्व रेडक्रस दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी चन्द्रनगर उपशाखाको कार्यालयको समुदघाटन गरिएको छ । कार्यालयको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले रिवन काटेर गर्नुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्नुहँुदै चन्द्रनगर गाउँपालिका अध्यक्ष महतोले ग्रामीण भेगमा ६० जनाले रक्तदान गर्नु भनेको ठुलो उपलब्धि भएको बताउनुभयो । उहाँले चन्द्रनगरमा करिब ६ सय रेडक्रसका सदस्य रहेको र ती सबैलाई यस्तो महान कार्यमा सहभागी गराउन सुझाव समेत दिनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सर्लाही शाखाका अधिकृत रामकिशोर पंडित, उपसभापति शेख शाहदुल्हा, जनप्रतिनिधि लगायत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।