भाइरल पोष्ट, पर्सा
वैशाख २५ गते । पर्साको बालमैत्री सिकाई केन्द्रमा बालबालिकाको लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालनमा ल्याएको छ । बागमती सेवा समाज नेपाल हरिवन सर्लाही र पर्सा गाउँपालिका वडा नम्बर ३ को सहयोग संयुक्त प्रयासमा बालबालिका तथा किशोरकिशोरीहरुको लागि यहाँको बालमैत्री सिकाई केन्द्रमा निःशुल्क कम्प्युटर कक्षा विहिबारबाट सञ्चालनमा ल्याएको हो ।
निःशुल्क कम्प्युटर कक्षाको पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव(विस्पत) र वडा ३ का वडा अध्यक्ष रघुनाथ प्रसाद साह तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालले यहाँ सञ्चालन गरेको बाल संरक्षण, समुदाय संलग्नता स्पोन्सरसीप परियोजना अन्तरगत सञ्चालनमा ल्याएको सिकाई केन्द्रमा आवद्ध बालबालिका तथा किशोरकिशोरीहरुको लागि निःशुल्क रुपमा कम्प्युटर शिक्षा प्रदान गर्ने उदेश्यले सुरु गरिएको कम्प्युटर कक्षाको लागि स्पोन्सरसीप परियोजनाले सिकाई केन्द्रका बालबालिकाका लागि रुप व्यवस्थापनसहित ३ थान कम्प्युटर सेट, आवश्यक टेबल कुर्सी प्रदान गरको बागमती सेवा समाजका परियोजना संयोजक प्रमेश बादेले बताउनुभयो ।
संयोजक बादेका अनुसार बालबालिका तथा किशोरकिशोरीहरुले वडा तथा परियोजनासँग बालमैत्री सिकाई केन्द्रको स्थापना तथा कम्प्युटर सीपको लागि चाँजोपाँजो मिलाई दिन आग्रह गरेपछि वडा कार्यालय तथा पालिकासँग समन्वय गरेर उनीहरुको लागि निःशुल्क कम्प्युटर सिप सिक्ने वातावरण निर्माण भएको हो ।
बालबालिकालाई जीवनोपयोगी सीप प्रदान गर्ने उदेश्यले निःशुल्क कम्प्युटर सिक्ने प्रवन्ध मिलाइएको र उनीहरुले कम्प्युटरसम्बन्धी ज्ञान हासिल गरेर त्यसको सदुपयोग गर्ने विश्वास लिएको संयोजक बादेले बताउनुभयो ।
बोधीमाई बाल क्लबका अध्यक्ष अम्बिका मुखियाले जीवनमा नभई नहुने सीप अन्तरगत कम्प्युटर शिक्षा भएकोले आफूहरुले कम्प्युटर सिक्न ईच्छा गरे अनुसार नै सिक्न पाएको बताउनुभयो । उहाँले यो अवसरको लागि बागमती सेवा समाज नेपाल र वडा तथा पालिकालाई धन्यवाद दिनुभयो
निःशुल्क कम्प्युटर कक्षाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पर्सा गाउँपालिकाकी बाल कल्याण अधिकारी चन्दा यादवले बालबालिकाको चाहना अनुसार निःशुल्क कम्प्युटर कक्षा सञ्चालनको प्रवन्ध मिलाई दिएर वल्र्ड भिजन र बागमती सेवा समाजले सराहनीय कार्य गरको बताउनुभयो । उहाँले कम्प्युटर सिकेर अवसरको खोजीमा लाग्न समेत बालबालिका तथा किशोरकिशोरीहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पर्सा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले बालबालिकाको लागि कम्प्युटरसम्बन्धी सीप अपरिहार्य रहेको र यस्तो सीपले नवयुवाहरुलाई सकारात्मक बाटो तिर लैजान प्रोत्सान मिल्ने बताउनुभयो ।
त्यस्तै वडाअध्यक्ष रघुनाथ प्रसाद साहले अन्यत्र वालमैत्री कम्प्युटर कक्षाको उद्घाटनमा गएको बेला आफ्नो वडामा पनि सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने लागि रहेकै बेला बागमती सेवा समाज र वल्र्डभिजनले आफ्नो मनको कुरा बुझेरै निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गर्न आवश्यक सहयोग गरेकोमा निकै खुशि लागेको भन्नुहुँदै परियोजनालाई नै धन्यवाद दिनुभयो । उहाँले बागमती सेवा समाजले जिम्मा लिएको दुई महिनाको अवधि सकिएपछि वडा कार्यालयले नै प्रशिक्षकहरुको व्यवस्थापन गरेर कम्प्युटर कक्षालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएका पर्सा गाउँपालिकाका अध्यष धिरेन्द्र राय यादव(विस्पत)ले बालबालिका तथा किशोरकिशोरीहरुलाई हरेक क्षेत्रमा गाउँपालिकाको साथ रहने बताउनुभयो । उहाँले स्पोन्सरसीप परियोजना पश्चात पर्साका बालबालिकाहरुमा निकै नै सकारात्मक परिवर्तनहरु देखा परेको बताउनुभयो र परियोजनाको टीमलाई नै धन्यवाद दिनुभयो ।
कार्यक्रममा पर्सा वन शाखाका राजेन्द्र यादव, प्रशासन शाखाका नवल किशोर महतो, सुचना अधिकृत विमलेश यादव, उपेन्द्र महतो, उमेश पाण्डे लगायत बाल अधिकार समितिका पदाधिकारी, वल्र्ड भिजनका जिल्ला संयोजक सीता चौधरी, अभिभावक तथा किशोरकिशोरीहरुको उपस्थिती रहेको बागमती सेवा समाज नेपालका फिल्ड मोविलाईजर नवल किशोर साहले जानकारी दिनुभयो ।